Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०८:३६

गोकुलेश्वर-सतबाँझ सडकखण्डमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ ०७, २०७९
गोकुलेश्वर-सतबाँझ सडकखण्डमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

गोकुलेश्वर-सतबाँझ सडकखण्ड अन्तर्गत बैतडीका दुई फरक स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 

मंगलबार बिहान गोकुलेश्वर-सतबाँझ सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका जाने गेट नजिकै सडकमा राखिएको शंकास्पद वस्तु र सतबाँझस्थित भण्डारी आयल स्टोर नजिकै सडक किनारमा राखिएको शंकास्पद वस्तु डिस्पोज गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताए । 

दुवै ठाउँमा राखिएको शंकास्पद वस्तु बम नभएको उनले बताए । सडकमा झुक्याउनका लागि होक्स राखिएको र ती वस्तुलाई डिस्पोज गरिएको उनले बताए । सतबाँझ क्षेत्रमा शंकास्पद वस्तु राखिएको सूचना पाउने बित्तिकै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । 

विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् । उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ । 

यसैबीच नेकपाको बन्दका कारण बैतडीमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दका कारण गन्त्वयमा पुग्नुपर्ने नागरिकहरुलाई समस्या भएको छ । शिक्षण संस्था लगायतमा बन्दको असर परेको छ । 

प्रतिक्रिया