Wide Nepal News शनिबार ०५, जेठ २०८१ १०:४७

दार्चुलामा नेपाल बन्द प्रभाव : यातायात र पसलहरु बन्द, ठाउँठाउँमा प्रहरीको निगरानी

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ ०७, २०७९
दार्चुलामा नेपाल बन्द प्रभाव : यातायात र पसलहरु बन्द, ठाउँठाउँमा प्रहरीको निगरानी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव दार्चुलामा पनि देखिएको छ।

मंगलबार बिहानैदेखि जिल्लाका विभिन्न स्थान, सडक र बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

लामो दुरीका सवारीसाधनहरु प्रहरीले स्कर्टिङ गरिरहेको छ भने सदरमुकाम खलंगा, गोकुलेश्वर, लटिनाथ लगायतका स्थानमा चल्ने छोटो दुरीका सवारीसाधन र पसलहरु बन्द छन् । 

जिल्लामा बन्दको प्रभाव सामान्य रहेको र प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले दार्चुलाले जनाएको छ । 

गोकुलेश्वरसहित आसपासका क्षेत्रमा अहिलेसम्म शंकास्पद गतिविधी केहि नदेखिएको, प्रहरीले ठाउँठाउँमा निगरानी बढाइरहेको र अहिलेसम्म स्थिती सामान्य रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवम् प्रहरी निरीक्षक विरेन्द्र थापाले बताएका छन् । 

यता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला इन्चार्ज भरत मल्लकाअनुसार देशभर साँझ ५ बजेसम्मका लागि बन्द आह्वान गरिएपनि दार्चुलामा चाडपर्वको समय भएकाले स्थानीयका आवस्यकताअनुसार समयमा हेरफेर गरिन सक्ने जानकारी दिएका छन् ।

विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका हुन्।  

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।  यस्तै अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका छन्।

प्रतिक्रिया