Wide Nepal News शुक्रबार ०७, बैशाख २०८१ १०:४८

जनताले काबिल ठानेर जिताउनु भएको छ, लेकमको बिकासप्रति प्रतिबद्ध छु : अध्यक्ष, लेकम गाउँपालिका

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ ०४, २०७९
जनताले काबिल ठानेर जिताउनु भएको छ, लेकमको बिकासप्रति प्रतिबद्ध छु : अध्यक्ष, लेकम गाउँपालिका

गत बैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै देशभरका ७ सय ५३ वटै स्थानीय तहमा आगामी पाँच बर्षका लागि जनप्रतिनिधी आएका छन् ।

आफूले निर्वाचित भए गाउँ, समाजमा विकासको बाढी नै ल्याउने सम्मका प्रतिबद्धताका साथ स्थानीय तह निर्वाचन जितेका जनप्रतिनिधी जिम्मेवारी सम्हालेयता विभिन्न गतिविधीमा व्यस्त देखिन्छन् । 

जनतासित समृद्धिका अनेक सपनासहित शिक्षा, स्वास्थ्य, विद्युत, सडकको बिस्तार गर्नेदेखि युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने सम्मका सपना बाडेका जनप्रतिनिधीले निर्वाचित भइसके पश्चात् स्थानीय तहको विकासका लागि यतिबेला केकस्ता कामहरु गरिरहेका छन् त ?

यसै सेरोफेरोमा आधारित रहेर हामीले दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी (आर.डी.) सित  'पाँच प्रश्न' सोधेका छौ । प्रस्तुत छ उहाँसित   'वाइड नेपाल न्युज डटकम' ले गरेका सवाल-जवाफ को सम्पादित अंश :

लेकम गाउँपालिका अध्यक्षमा झण्डै २ हजार ९ सय ७६ मतसहित निर्वाचित हुनुभएको छ । लेकमका मतदाताले यसपटक आफूलाई किन पत्याए जस्तो लाग्छ यहाँलाई ?

लेकममा अझैपनि बाटोघाटो, खानेपानी, विद्युत लगायतका समस्या विद्यमान छन् । पालिकाको सदरमुकाम जोड्ने बाटोको हालत समेत खराब रहेको छ । यस्तै वडाहरु सडक सञ्जालसित नजोडिएको अवस्था छ । मैले पनि आफू निर्वाचित भएपछि अस्तव्यस्त रुपमा रहेका तिनै शिक्षा, स्वास्थ्य लगायत माथि उल्लेख गरेका यावत् समस्यालाई प्राथमिकीकरण गरेर क्रमिक रुपमा समाधान गर्ने प्रतिबद्धता जनतामाझ राखे र जनताले विश्वास पनि गरेका छन् । 

उसोभए, यहाँहरु निर्वाचित भइ सकेपश्चात् आर्थिक बर्ष २०७९।८० को बार्षिक नीति, कार्यक्रम तथा बजेट पनि ल्याइ सक्नुभएको छ, हाल केकस्ता कामहरु गर्दै हुनुहुन्छ ?

हामी अहिले मुख्यत: लेकम गाउँपालिका जोड्ने दुईवटा सडक ऐरछाना-धनथाला सडकखण्ड र गोकुलेश्वर-लाली सडकखण्डलाई मुख्य प्राथमिकतामा राखेर कामहरु भइरहेको छ । यि दुइवटै सडकलाई भरपर्दो ढंगले बाह्रै महिना यातायात सञ्चालनमा ल्याउने किसिमले लागेका छौं । 

खासगरि ऐरछाना-धनथाला सडकखण्डमा प्रदेश सरकारबाट बहुबर्षिय ठेक्का स्वीकृत गराएर त्यसको कामकाज सुरु भइसकेको अवस्था छ । त्यसैगरि गोकुलेश्वर लाली सडकखण्ड निमार्णको काम पनि टेण्डर भएर अहिले काम सुरुवात हुदैंछ । विद्युतको सवालमा पनि भएका ठेक्काहरु तदारुकताका साथ सम्पन्न गर्न प्राधिकण र ठेकेदारहरु सित आग्रह गरिरहेको छु । 

गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटका सन्दर्भमा पनि लेकम गाउँपालिकाका मुख्य समस्या केके हुन् र तिनलाई कसरी सुल्झाउन सकिन्छ भन्ने जस्तै बाटोघाटो, सडक, सञ्चार, विद्युत लगायतका पूर्वाधारको विकास गर्ने कुराहरु भए, यस्तै युवाहरुलाई रोजगारीमा जोड्ने कुराहरु छन्, यस्ता कुरालाई आवस्यकता र प्राथमिकताका आधारमा अगाडी सारेका छौं । 

जिल्लाभर शिक्षा र स्वास्थ्यको अवस्था 'भद्रगोल' छ, यसमा सुधारका लागि स्थानीय सरकारले विशेष चासो नै नदेखाएको अवस्थामा लेकम गाउँपालिकासित केकस्ता योजना रहेका छन् ?

स्वास्थ्यमा गुणस्तर सुधारका लागि दार्चुलामै पहिलोपटक लेकम गाउँपालिकाले १० बर्षे योजना बनाएर यसको अपेक्षाकुत सुधारका लागि नीति तथा कार्यक्रममा नै समावेश गरि कामहरु गर्दैछौ । शिक्षामा पनि भौतिक, शैक्षिक, र प्रशासनिक रुपमा सुधारका लागि  हाम्रो उपस्थिति र गन्तव्य कहाँ हो भन्ने गहन रुपमा समिक्षा गर्दै काम भइराखेका छन् । 

लेकम गाउँपालिकाले शिक्षाको दिगो र रणनितिक रुपमा विकास गर्नका लागि आर्थिक बर्ष २०७९।८० मा मात्रै पोने तीन करोड बजेट विनियोजन गरेका छौ । यसमा आवस्यकताका आधारमा शिक्षक दरबन्दी थप्ने, विद्यालय समायोजन गर्ने, विद्यालय संख्या थप गर्ने लक्ष्यसहित आगामी पाँच बर्षे, १० बर्षे योजनासहित हाम्रो नीति तथा कार्यक्रम मै समाबेश गरेर उपलब्धिमूलक ढंगबाट अगाडी बढ्छौ । 

विगतका सरकारहरुले पनि विकासका अनेक सपना बाडे, तथापी जनताले अपेक्षा गरे बमोजिम बितेका ५ बर्षसम्म काम नगरि बिदा भएका छन्, बरु भ्रष्टाचारका अनेक आरोप तिनलाई लागिरहेको छ । तपाईको कार्यकालमा लेकम गाउँपालिकाको बिकास हुन्छ भन्नेमा बिश्वास गर्ने आधार के हुन् सक्छन् ?

म अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ सालमा गाउँपालिका अध्यक्ष पदमा भाग लिएको थिए । उतिबेला लेकम गाउँपालिकाबासि आमाबुवा, दाजुभाइ एवम् दिदी बहिनीले पत्याउनु भएको थिएन् । अहिले २०७९ मा आएर मलाई यस पदका लागि काबिल सम्झेर आफ्नो बिश्वास दिनु भएको छ । उहाँहरुले जुन आशा, अपेक्षा राखेर मलाइृ जिताउनु भएको छ, यसै कार्यकालमा उहाँहरुले दिनुभएको मतको कदर गर्दै समृद्ध लेकम निमार्णका लागि म सधैं डट्ने प्रतिबद्दता व्यक्त गर्दछु । मैले जनताको यो बिश्वास कायम राख्नुपर्छ भन्ने कुरामा म सधैं सचेत रहनेछु । 

अध्यक्ष ज्यु, अन्त्यमा हाम्रा पाठक वर्गलाई तपाईको राजनैतिक र सामाजिक जीवनका बारेमा छोेटोमा बताइदिनुहोस् न ।

मैले लामो समय सरकारीे कर्मचारीका रुपमा रहेर काम गरे । त्यहीँ सिलसिलामा त्यो समयमा मैले देखेको भेदभाव, छुवाछुत, अन्याय र अत्याचार, त्यो समयको निरंकुशताको अन्त्य गर्नका लागि तत्कालिन माओवादीले उठाएका मुद्दामा सहमत भइ विक्रम संवत् २०६० सालदेखि नेकपा माओवादी केन्द्रसित आबद्द छु । कर्मचारी छदैं माओेवादीले उठाएका मुद्दाहरुसित बैचारिक हिसाबले सहमत भएर राजनितिक  रुपमा लागियो । पछि जागिर छोडेर पूर्णकालिन राजनितीमा लागियो । यसै क्रममा जनताका साथमा रहेर काम गर्ने अवसर मलाइ प्राप्त भयो ।  

ति कहालीलाग्दा युद्धका दिन र शान्ती प्रक्रियामा आएपछि पनि पार्टीले दिएका विभिन्न जिम्मेवारी निभाउदैं अहिलेसम्म नेकपा माओवादी केन्द्रसित जोडिएर राजनितिमा लागेको छु । 

प्रतिक्रिया