Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०८:४६

चिकित्सक दम्पतीसहित गोकुलेश्वर अस्पतालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ ०४, २०७९
चिकित्सक दम्पतीसहित गोकुलेश्वर  अस्पतालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला । दार्चुलामा कोरोना भाइरस संक्रमितको ग्राफ फेरि उकालो लाग्न थालेको छ । 

जिल्लाको शैल्यशिखर नगरपालिका ९ स्थित, गोकुलेश्वर अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मीमा सहित ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि शनिबार बिहान १७ जनाको कोभिड एन्टिजेन जाँच गर्दा अस्पतालमा कार्यरत २ जना चिकित्सक सहित ३ जना स्वास्थ्यकर्मी र उनीहरुका आफन्त गरि ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले जानकारी दिएका छन् । 

संक्रमितमध्ये धेरैजसोलाई रुघाखोकीको समस्या देखिएको र अहिले संक्रमण पुष्टि भएका सबैजनालाई आइसोलेसनमा राखिएको डाक्टर बमले बताए ।

स्वास्थ्यकर्मीमा नै संक्रमण पुष्टि भएपछि अस्पतालले सेवाग्राहीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  साथै अस्पताल आउँदा आवश्यक सुरक्षा मापदण्ड माक्सको प्रयोग गर्न,साबुन पानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न, भौतिक दुरि कायम राख्न तथा  बिरामीको कुरुवा आउन परे १ जना मात्रै साथमा आउन अनुरोध गरेको छ । 

यसैबिच गोकुलेश्वरमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १० पुगेको छ । यता जिल्लाभरि भने कोरानाका सक्रिय संक्रमितको संख्या २४ पुगेको छ । हिजो साँझसम्म जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्यामा २५ रहेकोमा ९ जना बिरामी निको भएका स्वास्थ्य कार्यालय दार्चुलाका तथ्यांक सहायक खगेन्द्र कार्कीले जानकारी दिएका छन् । 

पछिल्लो दुई हप्तामा मात्रै दार्चुलामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया