दार्चुलास्थित सशस्त्र प्रहरी बल ४४ नम्बर गणका गणपति समेत रहेका एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ।
आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको छ।
कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ। तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त गणमा २५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर अनियमितता गरेको आरोप छ।
राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले एसपी विष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाइएको हो।
यसअघि एसपी विष्टले राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो। हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन्। साहुमाथि संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप लागेको छ।
राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचनासमेत चुहाएको आरोप उनीमाथि लागेको हो। तर, हवल्दारले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए।
हवल्दारको पारिवारिक स्रोतका अनुसार उनलाई फसाउने नियतले गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको अभियोग लगाइएको हो। साहुलाई फसाउन गणका केही अधिकारी र स्थानीय पत्रकार भनिएकाको समेत मिलेमतो रहेको बताइएको छ।
साहुमाथि उक्त आरोप लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले साहुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। साहुमाथि लागेको अभियोगका सन्दर्भमा अन्तिम फैसला हुन बाँकी छ।
प्रतिक्रिया