Wide Nepal News शनिबार २२, बैशाख २०८१ ००:०९

सेटिगाउँ बहुमुखी क्याम्पसको १२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ०२, २०७९
सेटिगाउँ बहुमुखी क्याम्पसको १२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न

गोकुलेश्वर । बैतडीमा उच्च शिक्षा अध्ययनका लागि अग्रणी शिक्षण संस्थाका रुपमा परिचित सेटिगाउँ बहुमुखी क्याम्पस ककरपाखा बैतडीको १२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस २०७९ एक समारोहका बिच सम्पन्न भएको छ । 

बिहीबार सेटिगाउँ बहुमुखी क्याम्पसले क्याम्पस सञ्चालन समितीका अध्यक्ष अनिलकुमार बिष्टको अध्यक्षतामा १२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस २०७९ को आयोजना गरेको हो । 

क्याम्पसले वार्षिकोत्सवका अवसरमा पूर्व क्याम्पस प्रमुख प्रमानन्द जोशी, क्याम्पसलाई जग्गादान गर्ने जग्गादाता गजबहादुर बोहरा, संस्थापक सदस्यहरु र  क्याम्पसको विकासका लागि योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको सेटिगाउँ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीले जानकारी दिएका छन् । 

कार्यक्रममा क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीले क्याम्पसको गत आर्थिक बर्ष २०७८।७९ र यस आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । क्याम्पसले विगतका बर्षहरुमा भन्दा हाल क्याम्पसको शैक्षिक, भौतिक एवम् आर्थिक पक्षमा सुधार आएको निस्कर्ष निकालेको छ । 

वार्षिकोत्सव समारोह एवम् अभिभावक दिवस २०७९ मा डिलासैनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष उत्तर बहादुर बोहरा प्रमुख अथिति रहेका थिए भने अभिभावक, विभिन्न राजनैतिक दलका प्रतिनिधी, विद्यार्थी एवम् क्याम्पसका शुभचिन्तकहरुको सहभागिता रहेको सेटिगाउँ बहुमुखी क्याम्पसका विद्यार्थी कृष्णसिंह रावलले बताए । 

विक्रम संवत् २०६७ सालमा स्थापना भएको सेटिगाउँ बहुमुखी क्याम्पसमा हाल शिक्षासंकाय र वाणिज्यसंकायमा स्नातक तहको अध्ययन भइरहेको छ । क्याम्पसमा हाल १५ जना कर्मचारी र ३ सय ४५ जना विद्यार्थी रहेका छन् । 

प्रतिक्रिया