Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:३९

'१०० दिनमा के गरिस् ?' भन्नेलाई धरानका मेयर साम्पाङ ले सार्वजनिक गरे कामको सूची

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ०२, २०७९
'१०० दिनमा के गरिस् ?' भन्नेलाई धरानका मेयर साम्पाङ ले सार्वजनिक गरे कामको सूची

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले अहिलेसम्म आफूले गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

'१०० दिनमा के गरिस्' भनेर प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले बुधबार १३ कामको सूची सार्वजनिक गरेका हुन् ।

सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै धरानको मेयरमा निर्वाचित राईले गत जेठ ९ गते शपथ लिएका थिए । बुधबार उनले शपथ लिएको ८७औं दिन हो ।

मेयर राईले अहिलेसम्म ४ ठाउँबाट खानेपानीको मुहान थपेको जानकारी दिएका छन् । त्यस्तै श्रमसंस्कृतिको क्रान्ति सुरु गरेको पनि उनको भनाइ छ ।

धरानमा खानेपानी मुहान बनाउन होस् वा वृक्षरोपण गर्न पछिल्लो समय हजारौँ मानिसको सहभागिता हुने गरेको छ । त्यस्तै उनले अहिलेसम्म ६ लाख विरुवा रोपेको पनि बताएका छन् ।

केही दिन काठमाडौं बसेर गएका मेयर राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रमदानका लागि निमन्त्रणा दिएको बताएका छन् । त्यस्तै उनले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, अर्थमन्त्री जनार्दन शर्मालगायतका व्यक्तिलाई पनि भेटेका थिए ।

स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् ।

यस्ता छन् मेयर राईले उल्लेख गरेका काम

  • १. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरें !
  • २. ४ ठाउँबाट खानेपानीको मुहान थपें !
  • ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
  • ४. ६ लाख विरुवा रोपें !
  • ५. सरसफाइमा देखिने सुधार ल्याएँ !
  • ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
  • ७. जलविद्युत्को सफल परीक्षण गरी बगरमा बत्ती बालें !
  • ८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !
  • ९. लागूऔषधविरुद्धको अभियान सुरु गरें !
  • १०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
  • ११. पारदर्शी हिसाब किताब सार्वजनिक गरें !
  • १२. पालिकाका सेवामा तीव्रता र प्रस्टता ल्याइदिएँ !
  • १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

प्रतिक्रिया