Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४४

बैतडीमा चितुवा र मानवबिच द्वन्द्व, एक दशकमा २७ मानिस र ११ चितुवाको ज्यान गयो

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ०२, २०७९
बैतडीमा चितुवा र मानवबिच द्वन्द्व, एक दशकमा २७ मानिस र ११ चितुवाको ज्यान गयो

बैतडीमा जंगली बँदेल मार्न थापेको पासोमा परेर मरेको चितुवा गर्भवती रहेको खुलेको छ।

बुधबार विहान दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा उक्त चितुवा फसेको थियो। बुधबार दिउँसो उद्धार गरेर खोरभित्र राखेपछि चितुवा मरेको डिभिजन वन कार्यालयका बैतडीले जनाएको छ ।

यद्यपी चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको थियो। तर टोली नपुग्दै चितुवा मरेको थियो।  चितुवाको मृत्यु भएपछि शव व्यवस्थापन गर्ने क्रममा उनी गर्भवती रहेको खुलेको डिभिजन वन कार्यालय बैतडीका निमित्त प्रमुख सुन्दरी माझीले जानकारी दिइन्। शवको पोष्टमार्टम गर्दा उनको पेटमा २ ओटा बच्चा भेटिएका छन्। 

बैतडीमा बँदेलले अन्नबालीमा क्षति गर्न थालेपछि त्यहाँका स्थानीयले पासो थाप्ने गरेका छन्। सोही पासोमा विभिन्न समयमा चितुवा फस्ने गरेका छन्।

उसो त जिल्लामा विगतदेखि नै चितुवा र मानवबीच द्वन्द्व बढीरहेको छ। विक्रम संवत् २०६८ सालदेखि पछिल्लो १ दशकको अवधिमा चितुवाको आक्रमणमा परि २७ जना मानिसले ज्यान गुमाएका छन्, १३ जना घाईते तथा अपाङ्ग भएका छन् भने हालसम्म मानिसको थापेको जालमा परि ११ चितुवाले प्राण त्यागेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ । 

बैतडीको तल्लो सोराडमा चितुवाले आतंक मच्चाएको खबर विभिन्न समयमा सञ्चारमाध्यममा सुनिने गरेका छन्।

 

प्रतिक्रिया