Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५८

प्रतिकूल मौसममा उडेको थियो विमान, स्थानीयले आवाज सुने तर देखेनन्

Wide Nepal News
आइतबार, जेठ १५, २०७९
काठमाडौं । आइतबार बिहानैदेखि गण्डकी प्रदेशको अधिकांश जिल्लामा हुस्सुसहित वर्षा भइरहेको थियो । मौसम विभागले यस क्षेत्रमा वर्षाको सम्भावना रहेको पूर्वजानकारी समेत गराएको थियो । पोखरा, म्याग्दी, मुस्ताङको आकाश बिहानैदेखि बादलले ढोकेको भए पनि पोखराबाट तारा एयरको ९ एन (एईटी) विमान जोमसोमका लागि उड्यो । पाइलट प्रभाकरप्रसाद घिमिरेको कमाण्डमा एयरहोस्ट किश्मी थापासहित १९ यात्रु बोकेको विमान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका थिए । उक्त विमान ११ बजेदेखि मुस्ताङको लेतेमाथिको आकाशबाट सम्पर्कविहीन भएको थियो । मुस्ताङको थासाङ गाउँपालिकास्थित पर्ने लेते भन्ने ठाउँसम्म त्यहाँका स्थानीयले विमानको आवाज सुनेका थिए । आकाशमा बादल लागेको कारण विमान भने देखेनन् ।
जोमसोम जानको लागि थासाङ गाउँपालिकाको रुट भएर जानुपर्छ । गाउँपालिकाका उपाध्यक्ष सोमलाल हिराचनका अनुसार नजिकैको गाउँका स्थानीयले लेतेसम्म विमान उडेको आवाज सुनेका रहेछन् । उनले नेपाल प्रेससँग भने, ‘यहाँको स्थानीयको अनुसार एक-डेढ घण्टाअघि यही रुट हुँदै उडेको हो रे । तर, माथि जोमसोम नपुगेको कुरा भयो । गाउँपालिकाबाट माथि गइसकेको थियो ।’ यहीँ बीचतिर कतै दुर्घटना भएको आशंका स्थानीयको छ । लेतेबाट जोमसोम ७ मिनेटको दूरीमा छ । उपाध्यक्ष हिराचनका अनुसार कालीगण्डकीको तीरैतीर गयो भने ठोकिने ठाउँ कुनै छैन । बादल लागेको कारणले कालीगण्डकीको साइड नगइ यतैतिर गएको हुनसक्ने उनको अनुमान छ । उनले भने,‘निलगिरीको साइडतिर मार्चे भन्ने लेकतिर जानसक्छ । कुन्जोको स्थानीयले देखेका थिए । यस्तो मौसममा पनि कसरी प्लेन आयो होला भनेर यहाँको स्थानीयले कुरा पनि गर्नुभएको थियो । माथि चाहीँ खुल्ला होला तल भुँइतिर मात्रै बादल होला भनेर सोच्नुभएको रहेछ ।’ कुन्जोबाट लेते वल्लो गाउँ र पल्लो गाउँमा पर्छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटना भएको पुष्टि गर्ने कुनै क्लु फेला नपरेको बताए । उनले नेपालप्रेससँग भने, ‘विमान मुस्ताङमा नै हराएको भन्ने छ । तर, दुघर्टना नै भएको भनेर पुष्टि गर्ने कुनै क्लु भेटिएको छैन ।’ उनका अनुसार विमानको खोजीका लागि सबै संयन्त्र परिचालन भइसकेको छ ।

प्रतिक्रिया