Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:४८

एसओएसले लियो बैतडीका टुहुरा बालिकाको जिम्मा

Wide Nepal News
शुक्रबार, असोज ०९, २०७७
बैतडीको दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ। तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो। एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली बैतडी पुगेर ती बालिकालाई जिम्मा लिएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए। अढाइ वर्षदेखि ती बालिकाको खाना र बसोबास व्यवस्था नगरपालिकाले गर्दै आएको थियो। सत्पालीका १५ वर्षीय निलम, १३ वर्षीय इन्द्रा, १२ वर्षीय पार्वती, १० वर्षीय लक्ष्मी, सात वर्षीय विन्दु र पाँच वर्षीय माया लावडलाई पठनपाठनसहितको जिम्मा उक्त संस्थाले लिएको हो। बैतडीस्थित हनुमानध्वज गुल्मका सेनानी प्रवीन थापाले टुहुराको जिम्मा लिन आग्रह गरेपछि बालग्रामको टोली बैतडी पुगेर जिम्मा लिएको हो। ती बालिकालाई उनीहरुको कागजपत्रसहित दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले संयुक्तरुपमा बालग्रामका निर्देशक अमगाईँलाई हस्तान्तरण गरे। टुहुरा बालबालिकाको सहयोगका लागि विभिन्न ठाउँबाट र एक लाख ३६ हजार रकम सङ्कलन भएको र त्यो रकम बैंक खातामा जम्मा गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए। -रासस

प्रतिक्रिया