Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०१:००

सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्रयाक

Wide Nepal News
आइतबार, असोज ११, २०७७
दार्चुला । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ । गत जेठ ९ गतेबाट काम शुरु गरेको नेपाली सेनाले ५५० मिटर बाटोको ट्रयाक खुलाएको हो । व्यासको अन्तिम कालापानी नजिकको गाउँ पुग्नको लागि यो ठाउँमा बाटो अवरुद्ध थियो । भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्याँसको वडा नम्बर १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो । चार महिना बढि समय लागेर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्याक खुलाएको हो । मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र समान ढुवानीमै केहि समय लागेको कारण ट्याक खुलाउने काम केहि ढिलाई भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । भीर फुटाएर ट्रयाक खुलाइएको छ, सेनाका प्रवक्ता एवं सहायकरथी पौडेलले भने, सफाई गर्ने काम एक दुई दिनभित्र सकिन्छ । यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । चट्टानी भूगोलले केहि ढिलाई भएपनि स्थानीयको लागि सहज रुपमा आवत जावत गर्न मिल्ने गरी बाटो निर्माण भएकोमा व्यास २ का स्थानीय हरकसिह कार्कीले खुशी व्यक्त गरे । घाटिबगरमा सेनाले बनाएको बाटोमा ट्याक राम्रो खुलेको छ । तर त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुन बाटो अवरुद्ध भएको कार्कीले थपे । घाटिबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्र पनि आवत जावत गर्न निकै सास्तीछ, व्यासको तिंकर पुगेर खलंगा फर्किएका कार्कीले भने । तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासीको कुञ्चा सर्न सक्दैन । तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भएपनि कडा चट्टानी भाग भएको कारण खुल्ने सम्भावना छैन् । यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्छ । ज्यानको बाँजी लगाएर वारपार गर्नुपर्ने अवस्था छ । यस्तै तम्बाकु नजिकको नयाँ निर्माण गरिएका बाटोहरु सबै भत्किएको छ । कल्जुगाडमा झोलुंगे पूल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएका छन् । सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहज रुपमा व्याँससम्मको बाटो खुल्ने उनको भनाई छ । तम्बाकु भन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन् । सरकारले दार्चुला तिंकर सडक अन्तर्गत व्यास गाउँपालिका वडा नम्बर २ कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर क्षेत्रमा सडक निर्माणको जिम्मा पनि गत वैशाख १४ गतेको मन्त्रिपरिषदको बैठकबाट नेपाली सेनालाई नै जिम्मेवारी दिएको छ । घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताए । सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने पौडेलले जानकारी दिए । पौडेलले भने, अहिले परामर्शदातामार्फ अध्ययन भइरहेको छ । सडक खण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) को काम सुरु गरेको छ । सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डिपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गत साउन २३ गते दार्चुला सदरमुकाम खलंगामा छ । यस ठाउँमा सडक निर्माण गर्न पनि कठिन ठाउँ छ । भौगलिक विकटता छ । दार्चुला तिंकर सडकले खोलेको ४३ किलोमिटर भित्र पनि राम्रोसँग गाडी चल्न सक्दैन् । सेनाले निर्माण गर्ने सडक त्यो भन्दा माथि हो । धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्ने स्थिति छ । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने छ । सडक निर्माण गर्न सक्यो भने व्यासीहरुको सपना पूरा हुन्छ । यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपिहिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्रहरु यस क्षेत्रमा छन । अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुन्छ व्यास गाउँपालिका वडा नम्बर १ का स्थानीय जगदीशप्रताप ऐतवालले बताए । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् । व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । अहिले व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म समेत बसेको छ । बाटो नभएकै कारण सशस्त्र प्रहरीले नेपालकै बाटो भएर खाद्यान्न ढुवानी गर्न हेलिकप्टर कुर्नुपरेको छ ।

प्रतिक्रिया