Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:११

दार्चुलाबाट सांसद ठगुन्ना मन्त्री बन्लान र ?

Wide Nepal News
सोमबार, असोज १२, २०७७
दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् केहि दिनमै पुनर्गठन हुने चर्चा चलेको छ । मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटी टुंगो लाग्न बाँकी रहे पनि नेकपाका सांसदहरू मन्त्री बन्ने दौडधुपमा लागेका छन् । अवसर पाइसकेका र अवसर नपाएका दुवै खाले सांसद् यसपटक पनि मन्त्री बन्ने दौडमा छन् । तर यसपटक विगतमा अवसर नपाएकाले मन्त्री बन्ने सम्भावना अधिक छ । पूर्वएमाले खेमाका कैयनले मन्त्रीको आकांक्षा देखाए पनि अर्थमन्त्रीमा महासचिव विष्णु पौडेलको सम्भावना रहेको बताइन्छ । त्यसैगरी गणेश ठगुन्ना, शान्ता चौधरी, कृष्ण दाहाल, यज्ञराज सुनुवार, प्रभु साह, रेखा शर्मा, जयपुरी घर्ती (वर्षमान पुन हटे मात्र) र नारदमुनि रानालाई मन्त्रीमा चर्चा छ । यसअघि मन्त्री बन्ने सौभाग्य नपाएकाले यी अनुहारबारे नेकपाभित्र विवाद नरहेको बताइन्छ । त्यसैगरी नेकपाका केही नेताले काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । यसअघि अवसर पाइसकेका भए पनि काठमाडौं र नेवार समुदायको प्रतिनिधित्व हुने भएकाले उनको सम्भावना बढी छ । त्यसैगरी, भीम रावलले पनि मन्त्री बन्ने चाहना राखेका छन् । मन्त्री बन्ने चाहना पूरा गर्नकै लागि कार्यदल सदस्य रहेका उनले कडा अडान राखेको चर्चा छ । तर रावल एमालेको उपाध्यक्ष र उपप्रधानमन्त्री बनिसकेका व्यक्ति रहेकाले मन्त्रिपरिषद् मा समेट्ने प्राविधिक समस्या खडा हुने ठानिएको छ । पूर्वमाओवादी खेमाका पनि दर्जनौंले मन्त्री हुने रहर गरेका छन् । देवेन्द्र पौडेल यसपटक समेटिने पक्कापक्की छ । पौडेल नेकपा स्थायी समिति सदस्यमध्ये मन्त्री नबनेका एक मात्र व्यक्ति हुन् । त्यस्तै, टोपबहादुर रायमाझी, पम्फा भुसाल, जनार्दन शर्माको पनि मन्त्री बन्ने चर्चा छ । भीम रावललाई जस्तै रायमाझी पनि यसअघि उपप्रधानमन्त्री बनिसकेकाले प्राविधिक जटिलता छ । दार्चुलाबाट ठगुन्ना मन्त्री बन्लान र ? भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेदेखि नै चर्चामा छ, दार्चुला । भारतले जारी गरेको नक्साको जवाफ नक्साबाटै दिएपछि यसको चर्चा अद्यपि उत्तिकै छ । राष्ट्रिय राजनीति दार्चुलासँग जोडिएको घटनाले गर्माइ रहे पनि अवसरका हिसाबले भने पछि छ, यो जिल्ला । कतिसम्म भने लामो समयदेखि यो जिल्लाले संघमा मन्त्रीसमेत पाउन सकेको छैन । यही र यस्तै गुनासोका बीच दार्चुलाले अब भने संघीय मन्त्रिपरिषद् मा आफ्नो प्रतिनिधित्व पाउने सम्भावना बढेको छ । स्रोतका अनुसार दार्चुलाबाट निर्वाचित गणेश ठगुन्नालाई मन्त्री बनाउने मनस्थिति प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका छन् । ठगुन्नालाई मन्त्री बनाउँदा सुदूरपश्चिमको अति विकट जिल्ला दार्चुलाको सम्मान हुने भएकाले मन्त्री बनाउन नेकपाका अन्य नेता पनि सकारात्मक भएको बताइन्छ ।

प्रतिक्रिया