Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१६

बम्जीजप्पसहितको झोलुंगे पूल निर्माणदेखि ओम पर्वत देखिने भ्यू टावर निर्माण गर्दै दुँहु गाँउपालिका

Wide Nepal News
शुक्रबार, कार्तिक २१, २०७७
दार्चुला । भूगोलको हिसाबले सबैभन्दा सानो तर पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ रहेको दार्चुलाको दुहुँ गाउँपालिकाले साहसिक पर्यटक भित्र्याउन बम्जी जम्पसहितको झोलुंगे पूल निर्माणदेखि सुदूरपश्चिमकै अग्लो अपिहिमाल, ओम पर्वत र तराईको चुरे हिमालका ऋखंला देखिने गरी भ्यू टावर निर्माण गरेको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिला र वडा नम्बर ५ गरमौरा जोड्ने झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुर्याइएको छ । दुुहुँका दुई वटा वडा जोड्न ३ सय ९० मिटर लामो र १ सय १० मिटर उचाईमा बम्जीजम्पीसहितको झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो । अहिले झोलुंगे पूल निर्माणको काम मंसिर अन्तिमसम्म सक्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । पूलको फाण्डेसनको काम सकाएर लठ्ठा तान्ने काम भइरहेको छ । पुलको लागत २ करोड १७ लाख रुपैँया रहेको छ । पुल निर्माणमा ट्राइल ब्रीज युनिट काठमाण्डौं, हेल्बटास नेपाल तथा समाज कल्याण समाजले प्राविधिक सहयोग गरिरहेको छ । झालुंगे पुल निर्माणपछि साहसिक पर्यटनका रुपमा रहेको बञ्जीजम्पको सम्भावनासहित सुदुरपश्चिम प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयमा योजनाको विस्तृत प्रतिवेदन (डिपीआर) तयार गरेर पेश गरिएको छ । जिल्ला सदरमुकामबाट गाडीमा एक घण्टाको दुरीमा रहेको उक्त क्षेत्रमा पुल निर्माण भई बञ्जी जम्प सञ्चालनमा आएपछि समग्र दार्चुलाको पर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । झोलुङ्गे पुल पर्यटकीय दृष्टिकोणले निर्माण भइरहेको हो। मंसिर अन्तिमसम्म निर्माण सम्पन्न गरि झोलुङ्गे पुलमुनी स्वीमिङ पुल, पार्कलगायतका संरचना बनाउने योजना रहेको अध्यक्ष कार्कीले बताउनुभयो । दुहुँ पर्यटकीय क्षेत्र अन्तर्गत पर्दछ। यहि क्षेत्रमा ब्रह्व मन्दिर देखि सिद्ध टोपी पर्दछ । सिद्ध टोपीमा निर्माण गरिएको भ्यू टावरमार्फत दार्चुला र धार्चुलाका विभिन्न पर्यटकीय गन्तव्यहरु देख्न सकिन्छ । यस्तै गाउँपालिकाले समुद्रीसतहबाट झण्डै चार हजार मिटर उचाईमा रहेको सिद्धटोपीमा जिल्लकै अग्लो भ्यू टावर निर्माण गरेको छ । सुदूरपश्चिमकै अग्लो ७१३२ मिटर उचाईमा रहेको अपी हिमाल देखि तराईको चुरे पर्वतसम्म देखिने भ्यु टावर निर्माण गरिएको छ । संघीय सरकार र दुहुँ गाउँपालिकाको सम्पूरक अनुदानमा भ्यु टावर निर्माण गरिएको गाउँपालिका अध्यक्ष कार्कीको भनाई छ । भ्यू टावर निर्माणको काम पनि अन्तिम चरणमा छ । भ्यू टावर निर्माण गरिएको भएपनि हस्तान्तरण भुक्तानी बाँकी छ । चार हजार मिटर उचाईको सिद्ध टोपीमा पाँच तले भ्यू टावर निर्माण गरिएको छ । शुरुमा चार ताला रहेको भ्यू टावर निर्माण गर्ने गरि डिजाईन बनाइएको थियो, अध्यक्ष कार्कीले भने, चार तलाबाट दृष्यावलोक गर्न केहि डाडा अग्लो देखिएपछि एक तला थप गरिएको हो । भ्यू टावर निर्माणमा झण्डै पचास लाख रुपैयाँ हाराहारीमा खर्च हुँदै छ । पासा दह अर्थात पार्वती कुण्ड र ब्रह्म दहभन्दा माथिल्लो क्षेत्रमा भ्यू टावर निर्माण गरिएको छ । सुदूरपश्चिमका विभिन्न क्षेत्र तथा भारत पिथौरागढ क्षेत्रसम्मका उच्च हिमऋखंलाहरु देख्न सकिन्छ । पर्यटकहरुलाई आकर्षण गराउने उद्देश्यले नै दुहुँ गाउँपालिकाले बम्जीजम्पिसहितको झोलुंगे पूल र सिद्ध टोपीमा भ्यू टावर निर्माणको काम सँगसँगै अघि बढाएको कार्कीको भनाई छ । भ्यू टावरसम्म पुग्न दुहुँ सदरमुकाम हिकिलाबाट दुई वटा रुट प्रयोग गरेर पुग्न सकिन्छ । जसअनुसार सिमखोला र सुत्खोला बाटो भएर भ्यू टावर पुग्न पाँच देखि ६ घण्टा बढि समय लाग्ने गरेको छ । यो क्षेत्रसम्म पुग्न पुरानो गोरेटो बाटो छ । गाउँपालिकाले सिद्ध टोपी र भ्यूटावरसम्म पुग्न पर्यटकीय पदमार्ग निर्माणको लागि डिपिआर निर्माण गरेर पर्यटन मन्त्रालयमा पेश गरिसकेको छ । पदमार्ग निर्माण, भ्यू टावर र सिद्ध पोखरी भएको क्षेत्रमा पर्यटकीय आवास गृह, शौचालय, लगायत विभिन्न संरचना निर्माण गर्न झण्डै ४ करोड बजेट लाग्ने छ । यो बजेट गाउँपालिकाले मात्र खर्च गर्न सक्ने अवस्था छैन्, अध्यक्ष कार्कीले भन्नुहुन्छ, संघ र प्रदेशबाट सहयोग पाउन सक्यो भने यो क्षेत्रको धार्मिक पर्यटनमा टेवा पुग्छ । गाउँपालिकाले भ्यू टावरको संरक्षण तथा सिद्ध पोखरीसम्म घुम्न आउने पर्यटकहरुको लागि व्यवस्थापन तथा पर्यावरण संरक्षण गर्न पर्यटन प्रवद्र्धन समिति बनाउने तयारी गरेको छ । गाउँपालिकाले हिकिलामा आन्तरिक पर्यटक तथा बाह्य पर्यटक लक्षित गर्दै होमस्टे निर्माण गर्ने तयारी गरेको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष गोविन्द डडालले बताउनुभयो । बम्जीजम्पिसहितको झोलुंगे पूल हेर्न आउने र सिद्ध ब्रह्मदह सम्म पुग्ने पर्यटकलाई बस्न समस्या हुन नदिन एक दर्जन होमस्टे बनाउने तयारी थालेको हो । यस्तै सिद्ध टोपीसम्म पर्यटकको भारी बोक्ने तथा उनीहरुलाई भूगोलबारे जानकारी गराउन गाईड तालिम दिने गाउँपालिकाको योजना छ । सिद्ध टोपी ब्रह्मदह धार्मिक रुपले अति महत्वको क्षेत्र हो । सिद्ध देउताको प्रमुख बासस्थानको रुपमा सिद्ध टोपी रहेको पाईन्छ । यो क्षेत्रमा गएर बरदान मागे मनोकामना पूरा हुने धार्मिक विश्वास रही आएको छ। निर्माणकै क्रममा रहेको भ्यू टावर हेर्न एक महिनाको अवधिमा झण्डै दुई सयको हाराहारीमा आन्तरिक पर्यटकहरु त्यहाँ पुगेका छन् । अहिलेको समय यो क्षेत्र अवलोकन गर्न उपयुक्त समय मानिन्छ ।

प्रतिक्रिया