Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ००:२०

बैतडीमा कोभिड अस्पताल सञ्चालनमा ढिलाइ

Wide Nepal News
शुक्रबार, कार्तिक २१, २०७७
कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढिरहेका भएपनि बैतडीका नौ वटा स्थानीय तहमा सञ्चालनमा आउने भनेका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ढिलाइ भएको छ । आवश्यक चिकित्सक र प्रक्रियामा ढिलाइ हुँदा सञ्चालनमा आउन सकेका छैनन् । स्थानीय तहले अस्थायी कोभिड अस्पतालका सञ्चालनका लागि प्रक्रिया सुरु गरेका भएपनि सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ । सङ्घीय सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट पठाइसकेको छ। 
जिल्लाका नौ स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठाइएको छ । बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । ती अस्पतालमा एक चिकित्सक, दूई स्टाफ नर्स र एक जना कार्यालयको सहयोगीको दरबन्दी भएपनि चिकित्सक भने पाइएका छैनन् । धेरैजसो स्थानीय तहले दोस्रो पटकसम्म आवेदन खुला गर्दासमेत चिकित्सक नपाएको बताएका छन् । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि दुईपटक चिकित्सकको लागि आवेदन खोलेको भएपनि कसैको आवेदन नपरेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।
रासस

प्रतिक्रिया