कहिले बन्छ गोकुलेश्वर विमानस्थल ?
Wide Nepal News
मङ्गलबार, मङि्सर ०९, २०७७
दार्चुला । विगत २६ बर्ष देखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल कहिले बन्ला भन्ने आम जन चासो र अपेक्षा छ । छिमेकी बैतडीको पाटन विमानस्थल सञ्चालन भइसक्दा दार्चुलाको गोकुलेश्वर विमानस्थल गाईभैँसी चर्ने गौचरन बनेको छ ।
बैतडीमा विमान गुडिरहदा गोकुलेश्वरमा गाईभैसीको क्रिडास्थल बनेको विमानस्थल सञ्चालन गर्ने भन्दै पटकपटक चुनावी भाषण दिदैँ चुनाव जितेका पनि आधा दर्जनबढि जनप्रतिनिधि छन् ।
तर गोकुलेश्वर विमानस्थलको काम भने अघि बढ्दै बढ्दैन् । जनप्रतिनिधिले चुनाव लड्दा राखिएको एजेण्डा कार्यान्वयन हुन नसकेकै कारण बेलाबेलामा झस्काई पनि रहन्छ ।
गत वर्ष प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले राष्ट्रिय योजना आयोग, नागरिक उड्डयन प्राधिकरण लगायतको टिमसँगै ल्याएर गोकुलेश्वर विमानस्थलको बिस्तृत परियोजना रिपोर्ट (डिपिआर) बनाउन लगाएका थिए।
गत वर्षकै अन्त्यबाट विमानस्थलको काम शुचारु गर्ने तयारी समेत गरियो । तर बन्छ बन्छ भनेको विमानस्थल आर्थिक वर्ष ०७७/७८ सम्म आइपुग्दा प्रक्रिया अघि बढेन् । विमानस्थल बनाउछु भन्ने तर विमानस्थलको काम कहिल्यै अघि नबढेको प्रति आक्रोशित छन्, गोकुलेश्वरका स्थानिय रामदत्त विष्ट । उनले भने, "अब जिल्लाका जनप्रतिनिधिको लागि हवाई टिकट आफै काटेर विमानस्थल देखाउने सोच छ ।" जनतासँग गरेका वाचा पूरा गर्न नसक्ने जनप्रतिनिधिप्रति उनको प्रतिनिधीमूलक आक्रोश हो ।
दार्चुलाका संघीय सांसद गणेशसिह ठगुन्ना चालू आर्थिक वर्षभित्र गोकुलेश्वर विमानस्थलको काम अघि बढ्ने बताउछन । गत वर्ष कोभिड-१९ का कारण विमानस्थलको काम अघि बढ्न सकेन् । डिपिआर पूरा भइसकेको छ । अहिले बहुवर्षीय ठेक्का प्रक्रियाको लागि नागरिक उड्डयन प्राधिकरणबाट फाइल संस्कृति तथा पर्यटन मन्त्रालय पुगिसकेको भन्दै चालू वर्षभित्रै प्रक्रिया अघि बढ्ने सांसद ठगुन्नाको दाबि छ ।
विगतमा प्राविधिकहरुलाई गलत विवरण दिएर विमानस्थलको काम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले भने, "गत वर्ष आफै उपस्थित भएर डिपिआर रिपोर्ट बनाउन र आयोगको टिम, मन्त्रालयको टिमसहितको स्थलगत निरीक्षण पछि विमानस्थल बन्ने प्रक्रिया सहज भएको छ ।"
अहिले विमानस्थलमा माटो भरान गरेर थोरै उचाई बनाएपछि सुचारु गर्न मिल्ने अवस्थाको रिपोर्ट आएको उनले बताए।
प्रतिक्रिया