Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१२

गणेश ठगुन्नासहित सुदूरपश्चिमका नेकपा नेताहरु को–कता ?

Wide Nepal News
बुधबार, पुष ०८, २०७७
दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेसँगै नेताहरु पक्ष विपक्षमा उभिने क्रम जारी छ । संसद विघटनको प्रस्तावसँगै नेकपा विभाजनको प्रक्रियामा अगाडि बढेको हो । मंगलबार अध्यक्ष केपी सर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक सञ्चालन गरेका थिए । ओली समूहले महाधिवेशनको मिति नै तोक्यो भने प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई कारवाही गर्दै माधव नेपाललाई अध्यक्ष बनाएको छ । शीर्ष नेताहरु विभाजनको असर तल्लो तहसम्मै परेको छ । दुवै पक्ष नेताहरुलाई आफ्नो समूहमा ल्याउन सक्रिय छन् । सुदूरपश्चिम प्रदेशमा पनि नेताहरु ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट नेकपाका प्रदेश ईन्चार्ज नेता भीम रावल प्रचण्ड–नेपाल समुहमा छन् । तत्कालिन एमालेका उपाध्यक्षसमेत रहिसकेका रावल विगतदेखि नै माधव नेपाल समूहका नेता मानिन्छन् । पछिल्लो समय उनी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । रावलपछि अर्का नेता हुन लेखराज भट्ट । ओली सरकारमा वहालवाला उद्योगमन्त्री रहेका भट्ट पूर्व माओवादी नेता हुन् । एमालेसँगै एकता हुनुपूर्व उनी प्रचण्डका विश्वासपात्र मानिन्थे । तर, अहिले उनी ओली समूहमा छन् । पूर्व माओवादी नेतामा भट्ट नै प्रचण्डका सबैभन्दा ठूला आलोचक भएका छन् । सुदूरपश्चिमका नेकपा प्रदेश कमिटि अध्यक्ष तथा अर्का नेता कर्ण थापा पूर्व उद्योगमन्त्री समेत हुन । उनी विगतदेखि नै ओली समूहमा थिए । अहिले पनि ओली समुहमा खुलेर समर्थन जनाएका छन् । नेकपाका नेता खगराज भट्ट प्रचण्ड समूहमै छन् । उनी पूर्व माओवादी नेतासमेत हुन । लेखराज भट्ट ओली समूहमा लागेपछि पछिल्लो समय प्रचण्डले खगराजलाई अगाडि बढाउँदै आएका छन् । ओली सरकारको मन्त्रीबाट राजीनामा दिएकी बिना मगर प्रचण्ड समूहमै छिन् । उनी विगठित प्रतिनिधिसभामा कञ्चपुरबाट प्रत्यक्ष निर्वाचित सासंद पनि हुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिचोलन भट्ट प्रचण्ड समूहमा छन् । मुख्यमन्त्री हुनुअघि उनी लेखराज भट्टका विश्वासपात्र मानिन्थे । लेखराज भट्टको सहयोगमा मुख्यमन्त्री बनेका भट्ट पनि पूर्व माओवादी नेता हुन् । नेकपा दार्चुलाका ईन्चार्ज एबं विगठित प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद गणेश सिह ठगुन्ना मौन बसेका छन । श्रोतका अनुसार नेता ठगुन्ना एकताको पक्षधर भएकोले अहिलेसम्म कुनै पनि समुहमा देखिनुभएको छैन् । नेपाल पक्षले ठगुन्नालाई आफ्नो समुहको नेताका रुपमा लिएको छ भने ओली पक्षले आफ्नो पक्षमा रहेको दाबी गरेको छ । नेता ठगुन्ना पर्ख र हेरको अवस्थामा रहेकोले केहि दिन भित्र विकसित हुने घटनाक्रम हेरेर निर्णयमा पुग्ने स्रोतको दाबी छ । विघठित प्रतिनिधिसभामा कञ्चनपुरबाट निर्वाचित भएका नेता दीपकप्रकाश भट्ट ओली समूहमै रहेको बताइन्छ । यद्धपी प्रचण्ड, नेपाल पक्षले नेता भट्ट आफुहरुको लाइनमा भएको दाबी गरेका छन् । विघठित प्रतिनिधिसभामा निर्वाचित डोटीका नेता प्रेम आले ओली समूहमा छन् । निरुदेवी पाल ओली समूहमै छिन् । उनी विगतदेखि नै ओली समूहमा रहेको नेताहरु बताउछन ।

प्रतिक्रिया