Wide Nepal News आइतबार ०९, मङि्सर २०८१ ०१:००

फराकिलो नेपाल (वाइड नेपाल) साप्ताहिक आइतबार विमोचन

Wide Nepal News
आइतबार, फागुन ०२, २०७७
दार्चुला : वाइड नेपाल नेटवर्कले आइतबार (आज) फराकिलो नेपाल साप्ताहिक (WIDE NEPAL WEEKLY) पत्रीका विमोचन गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरबाट प्रकाशन हुने गरि वाइड मिडियाले पत्रीका प्रकाशन गरेको हो । प्रविधिको विकासले संचार क्षेत्रमा अर्को आयाम थपिए पनि पुरानो छापा माध्यमको रूपमा रहेको पत्रपत्रिकाको महत्व घट्न नहुने मान्यता राख्दै यस पत्रीकाको प्रकाशन गरिएको फराकिलो नेपाल साप्ताहिकका प्रकाशक विस्ना धामीले बताइन । पत्रीका विमोचन समारोहमा उनले फराकिलो नेपाल साप्ताहिक पत्रीका समाजमा भ्रम फैलाएर चर्चामा आउन जस्तो पनि समाचार लेख्ने, मनगठन्त समाचार लेख्ने, राजनीतिक र अपराधिक मनोवृत्तिका खबरलाई प्राथमिकता दिने, कुसंस्कृत राजनीतिको साथ दिएर जनतालाई दु:ख दिने मिडिया भन्दा टाढा रहि समाजको ऐना बन्ने र  कोहि, कसैसित पनि आग्रह-पुर्वाग्रह नराखी आवाज विहिनहरूको आवाज बन्ने औंल्याइन । फराकिलो नेपाल साप्ताहिक पत्रीकाले गरिबका कुरा, परिश्रमी व्यक्तिहरूका सफलताका कथा, विकास निर्माण र पर्यटन प्रबर्द्धनका कुराहरूलाई प्राथमिकतामा राख्ने बताइन । सुदूरपश्चिमका ७ वटै पहाडी जिल्ला मध्येबाट आफु महिला प्रकाशकको रुपमा पहिलो महिला प्रकाशक बन्न पाएकोमा धामीले खुसी व्यक्त गरिन । हरेक हप्ताको आइतबार प्रकाशन हुने गरि गोकुलेश्वरबाट प्रकाशन हुने फराकिलो नेपाल साप्ताहिक शुरूमा दार्चुला र बैतडीका सदरमुकामसहित विभिन्न स्थानीय तहहरू सम्म उपलब्ध हुने र विस्तारै राष्ट्रिय साप्ताहिक पत्रीकाको रूपमा देशैभर उपलब्ध हुने गरि प्रकाशन गरिएको सम्पादक प्रेमबल्लभ जोशीले जानकारी दिए । पत्रीकाका कार्यकारी सम्पादक जिज्ञाशु खत्रीले फराकिलो नेपाल साप्ताहिक पत्रीकाले हरेक हप्ता आम सर्वसाधारणका कुराहरू उठान गर्ने र पाठकसामु जस्ताको त्यस्तै पुर्‍याउने कुरा पत्रीकाको प्राथमिकतामा रहेको बताए । उनले अपर्याप्त स्रोतसाधनका बाबजुद पनि गोकुलेश्वरबाट आफू र आफ्नो टिमले नेपथ्यमा रहेका घटनाक्रमहरू पत्रीकामार्फत प्रकाशन गर्दै जाने कुरामा पाठकलाई ढुक्क हुन आग्रह गरे । वाइड नेपाल नेटवर्कले यसअघि अनलाइन संस्करण www.widenepalnews.com संचालनमा ल्याइसकेको छ । निकट भविष्य मै संचारका अन्य विधामा पनि आफुहरू प्रवेश गर्ने तयारी रहेकोले यसमा सबैको वर्गबाट साथ, सहयोग तथा सकारात्मक सुझावको अपेक्षा राखेको वाइड मिडिया नेटवर्कका अध्यक्ष बिस्ना धामीले जानकारी दिएका छन । 

प्रतिक्रिया