Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१६

अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरद्वारा दुई महिनामा डेढ लाख राजस्व संकलन

Wide Nepal News
आइतबार, चैत ०१, २०७७
गोकुलेश्वर । पछिल्लो दुई महिनामा अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरद्वारा १ लाख ४२ हजार ५ सय राजस्व संकलन गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी हवल्दार बाशुदेव साउँदका अनुसार पछिल्लो दुई माघ र फागुन महिनामा गरि उक्त राजस्व संकलन गरिएको छ । ट्राफिक प्रहरी इन्चार्ज साउँद र ट्राफिक प्रहरी जवान लोकेन्द्रसिंह धामीको टोलीले सवारी नियम उलंघन गरि सवारीसाधन चलाउने सवारी चालक, सहचालक र गाडी धनीहरूलाई कारबाही गरि सो रकम संकलन गरिएको गोकुलेश्वरका ट्राफिक प्रहरी इन्चार्ज साउँदले जानकारी दिएका छन । उनका अनुसार सवारी नियम उलंघन गरि कारबाहीमा पर्नेमा ट्रक, जीपरकार, ट्याक्टर, मोटरसाइकल र ट्याम्पोहरू रहने गरेका छन । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना नै सवारीसाधन चलाउने, मापसे गरि सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी नियम उलंघन हुने गरि सवारीसाधन चलाउने चालक तथा सवारीहरू कारबाहीमा पर्ने गरेका छन । माघ र फागुन महिनामा ट्राफिक नियम उलंघन गर्ने २० वटा ट्रकहरू कारबाहीमा परेका छन । जसबाट १२,५०० रुपैयाँ राजस्व संकलन गरिएको छ । यस्तै १०२ वटा जीप/कारलाई कारबाही गरि ७५, ००० रुपैयाँ राजस्व संकलन गरिएको छ । यसैगरि नियमविपरीत चलाउने ३६ वटा ट्याक्टरलाई कारबाही गरि २७, ००० रुपैयाँ राजस्व संकलन गरिएको छ भने ४३ वटा मोटरसाइकललाई कारबाही गरि २४, ५०० रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरी इन्चार्ज साउद बताए । 
अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरका प्रहरी हवल्दार बाशुदेव साउँदको कमाण्डमा खटिएको टोलिले चार दिनदेखि लागेको गोकुलेश्वर शिवरात्री मेलाको समयमा मात्रै नियमविपरित सवारी चलाइरहेका मोटरसाइकल, जीपकार, रिक्सालाई कारबाही गरेर झण्डै ५० हजार राजस्व संकलन गरेको छ ।
पछिल्लो समय गोकुलेश्वर लगायतका नजिकका क्षेत्रमा सवारी दुर्घटना हुदाँ जनधनको क्षती भएकोमा चिन्ता व्यक्त गर्दै आफु गोकुलेश्वरमा रहदासम्म आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक जिम्मेवारी निभाउने बताउदै ट्राफिक इन्चार्ज साउदले सवारी दुर्घटना हुने जोखिम कम गर्न र ट्राफिक नियमको पूर्ण रूपमा लागू गर्न सवारी, सवारी धनी र चालकलाई कारबाही गर्ने तथा ट्राफिक शिक्षा दिने लगायतका कामहरू आफुले गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया