Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४१

नेपालकै सबभन्दा लामो पदमार्ग अपि हिमालमा

Wide Nepal News
सोमबार, चैत ०२, २०७७
दार्चुला : नेपालको सबैभन्दा लामो पदमार्ग निर्माणको काम दार्चुलाको अपि हिमाल गाउँपालिकामा भइरहेको छ । अपिहिमालबासी जनता र अपिहिमाल घुम्न आउने पर्यटकको सहजतालाई मध्यनजर गरि आठ हजारभन्दा बढी खुट्किला निर्माणको काम विगत दुई वर्षदेखि हुँदै आएको छ । आकर्षक स्लेट विच्छाइएको पदमार्गमा दायाँबायाँ रेलिङ राखिएको छ । त्यही रेलिङमा पेन्टिङ र स्लेटहरु मिलाएर बनाइएको सिँढी यतिबेला सबैको आकर्षणको बिन्दु बनिरहेको छ ।
'वाइड नेपाल न्युज' सितको साक्षात्कारमा अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले अहिलेसम्म ५१ प्रतिशत काम सम्पन्न भएको बताउदै अपिहिमाल गाउँपालिका ५, मकरीगाडदेखि वडा नम्बर ४ को मकरीकोट हुँदै 'अपि बेस क्याम्प' सम्म पुर्‍याउने गरी पदमार्ग निर्माण कार्य जारी रहेको बताएका छन ।
मकरीगाड देखि मकरीकोट चढ्न झण्डै चार घण्टाजति ओकाली चढ्नुपर्छ । भिरालो बाटो भएकाले ढुङ्गा खस्ने डर पनि उत्तिकै हुन्थ्यो । मान्छे हिँड्ने उही बाटोमा घोडा खच्चड, भेडाबाख्रा, पशुचौपाया पनि हिँड्ने भएकाले पूरै हिलो र धुलाम्य हुन्थ्यो । तर अहिले सिँढी निर्माणपछि पशु चौपायाका लागि अलग्गै र मानिसहरूका लागि अलग्गै पदमार्गमा निर्माण भएपछि हिडडुल गर्नमा सहज भएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन । स्थानीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकार गरि तीनै तहका सरकारको आर्थिक सहयोगमा पदमार्ग निर्माण भइरहेको छ। कूल आठ हजार २ सय ८२ खुड्किलासहितको पदमार्ग निर्माणको काम ठेक्काप्रणाली मार्फत गरिँदै छ । हालसम्म ४ हजार २ सय सय ४१ वटा खुड्किला निर्माण भइसकेका छन भने बाकी काम प्रगतिमा रहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष मन्यालले बताए । "मकरीगाडबाट मकरीकोट चढ्ने सजिलो र पर्यटकीय पदमार्गको रुपमा सिद्ध-मकरीकोट पदमार्ग निर्माण गरिएको हो। यो पर्यटकीय मार्ग मात्रै नभएर अपिहिमालको इतिहाससित समेत जोडिएको छ । जहाँ विगतको कालखण्डमा जतरसिंह राजाको दरबार थियो, जसको भग्नावशेष अझै हेर्न मिल्छ । त्यसैले पनि यस किसिमको पदमार्गको परिकल्पना गरेका हौ ।" अध्यक्ष मन्यालले भने । सिद्ध-मकरीकोट पदमार्गको ठाउँठाउँमा खानेपानी धारा, ३ ठाउँमा शौचालय, ३ ठाउँमा प्रतीक्षालय र ३ ठाउँमा रेस्टुरेन्ट राखिने बताउदै अध्यक्ष मन्यालले स्थानीय र पर्यटकलाई लोभ्याउने यस मार्गको निर्माणले देशैभर राम्रो सन्देश गएको बताए । उनले जतरसिंह राजाले विश्राम गर्ने ठाउँमा विश्रामस्थल र उनको घोडा रोकिएको ठाउँमा घोडाको मूर्ति बनाइने कुरा उल्लेख गरेका छन । पदमार्गको दायाँबायाँ वृक्षरोपण गरिँदै छ । अपि हिमाल गाउँपालिकाका स्थानीयलाई आफन्तको मृत्यु, जन्म हुँदा सो पल अविस्मरणीय होस भन्नका लागि पदमार्गको दायाँबायाँ रुख रोप्न लगाइने योजना समेत रहेको छ । पुरानो बाटो निकै जोखिम थियो । पहिरो र ढुङ्गा खस्ने डर हुन्थ्यो भने अहिले निर्माण गरिएको पदमार्गले यात्रुलाई सुरक्षित अनुभूति गराएको छ । हिँड्नलाई सजिलो हुने र समय पनि कम लाग्ने भएकाले यो पदमार्ग आकर्षक बनेको छ ।
अहिले अपिहिमाल गाउँपालिकासम्म जाने नयाँ मान्छेहरू सो पदमार्गमा फोटो खिच्ने, भिडियो खिच्ने र टिकटक बनाइ सामाजिक संजालहरूमा राख्दै आएका छन ।
गतसाता मात्रै बैतडीबाट अपिहिमालको भ्रमणमा निस्केका प्रकाशचन्द्र जोशीले सिद्ध-मकरीकोट पदमार्ग चढ्दै गर्दा आफुले स्वर्गीय आनन्द महसुस गरेको सुनाए । एकातिर चमेलिया नदी र अर्कोतिर मकरीगाड खोलाको हावाका साथमा यी सिँढी उक्लिन खुब आनन्द आउँछ । दायाँबायाँ खोलाका झरना, तलतिर पारिबगर-खण्डेश्वरी सडक र निर्माणाधीन मकरीगाड जलविद्युत् आयोजनाको अवलोकन यो सिँढीबाट गर्न सकिन्छ । यसरी सिद्ध-मकरीकोट पदमार्ग पर्यटकका लागि मुख्य आकर्षण बनेको छ। गाउँपालिकाले पदमार्ग निर्माणसँगै मकरीकोटमा प्रवेशद्वार निर्माण गरेको छ। प्रवेशद्धारमै मन्दिर र विश्रामस्थल निर्माण गरिएका छन्। सिद्ध-मकरीकोट चढ्ने बित्तिकै मकरीकोटबाट अपिहिमाल, सैपाल, जेठी-बहुरानी जस्ता हिमशंङ्खलाको दर्शन गर्न सकिन्छ भने अपि हिमाल गाउँपालिकाको अधिकांश बस्ती सहजै देखिन्छ। निर्माणाधीन पदमार्गलाई खात्तीमा प्राकृतिक रुपमा निर्माण भएका तालतलैयाको दर्शन गर्ने गरी सिँढी खात्ती हुँदै 'बेस क्याम्प' सम्मै पुर्‍याउने योजना रहेको अध्यक्ष मन्याल सुनाउछन। यस्तै नेपालकै उच्च क्षेत्र समुद्री सतहबाट दुई हजार ५०० मिटर उचाइमा खात्ती खेलमैदान छ । जहाँ हरेक वर्ष खेल हुने गरेका छन् । चारैतिर डाँडाकाँडा, र प्राकृतिक दृश्यहरुका काखमा रहेको यो खेलमैदान पनि उत्कृष्ट देखिन्छ। अध्यक्ष मन्यालका अनुसार आफुसहित त्यहाँका स्थानीयले दशकौंदेखि बाटोको समस्याले पिडा भोग्दै यात्रा गर्नुपरेको थियो । यो बाटोलाई सुधार गर्ने आफुसित परिकल्पना पहिल्यैदेखि भएपनी आफू अपिहिमाल गाउँपालिकाको जनप्रतिनिधि चुनिएपछि सो कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउदै अपिहिमालबासी जनताको जीवनस्तर सरल र सहज बनाउन आफू सधै लागिपर्ने बताए । उक्त मार्ग निकट भविष्यमा नै देशको उत्कृष्ट मध्येको पर्यटकीय गन्तव्य बन्ने र वर्तमानमा मात्रै नभइ दीर्घकालीन रूपमा वर्षौंसम्म यसले अपिहिमाल घुम्न आउने आगन्तुकको मन लोभ्याउने कुरामा गाउँपालिका अध्यक्ष मन्यालले बिश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया