Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०८

सवारीसाधनको जथाभावी हर्नले गोकुलेश्वरबासिलाई हैरानी, 'हर्न निषेधित क्षेत्र' बनाउनुपर्ने माग

Wide Nepal News
सोमबार, बैशाख १३, २०७८
दार्चुला : जिल्लाको दोस्रो ठूलो बजारको रूपमा रहेको गोकुलेश्वर बजार क्षेत्र छोटो तथा लामो दूरीका सवारीसाधनले निकाल्ने हर्नले प्रदूषित बन्दै गएको छ । बसपार्कविहीन सानो बजार क्षेत्र रहेको गोकुलेश्वरमा सवारीसाधनले जथाभावी हर्न बजाउदा ध्वनि प्रदूषण बढ्न थालेको हो । पछिल्लो समय नेपालका मुख्य शहर काठमाडौ, पोखरा लगायतका एक दर्जन बढी ठाउँमा सवारीसाधनलाई हर्न बजाउन निषेध गरिएको छ । यातायातका साधनले जथाभावी रूपमा हर्न बजाउदा हुने ध्वनि प्रदूषण बढेको भन्दै हर्न बजाउन निषेध गरिएको थियो । गोकुलेश्वर बजारमा पनि सवारी चालकहरूले अनावश्यक रूपमा हर्न बजाउने गरेकै कारण गोकुलेश्वरका बालबालिका, व्यवसायी र स्थानीयमा खिन्नता बढेको पाइएको छ । मुख्यत दिउँसोको समयमा सवारीसाधन चलाउदा अप्ठ्यारो बाटोमा दुर्घटना नहोस भनेर एकअर्कालाई सतर्क राख्न र यात्रु तथा मानिसलाई सचेत गराउनका लागि बजाउनु पर्ने हर्न सवारीचालकले गोकुलेश्वरमा बिहानको ३/४ बजे समेत बजाउने गरेको गुनासो स्थानीयको रहदै आएको छ । गोकुलेश्वरका व्यापारी महेशसिंह मालले धेरैजसो सवारी चालकले अनावश्यक ढंगले हर्न बजाउदाँ बजारमा ध्वनि प्रदूषण बढेको बताउदैँ बजार क्षेत्रमा जथाभावी रुपमा हर्नको दूरुपयोग गर्ने सवारीसाधन र चालकलाई कारबाही हुनुपर्ने बताए । उनले सवारी चालकलाई हर्न कहाँ बजाउने र कहाँ नबजाउने भन्ने बारेमा समेत राम्रोसित थाहा नहुँदा हर्नको दरुपयोग भएको र बजार क्षेत्रमा बस्ने विद्यार्थीहरुलाई समेत बाधा पुग्ने गरेकाले गोकुलेश्वर बजारलाई हर्न निषेधित क्षेत्र बनाउनुपर्ने माग गरेका छन । बस, ट्रक, जीप तथा मोटरसाइकलले जथाभावी रूपमा हर्न बजाउदा बजारक्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरूले समेत आफ्नो अध्ययनमा बाधा पुग्ने गरेको बताउने गरेका छन । गोकुलेश्वरमा अधिकांस बसका चालकले अनावश्यक रुपमा १ देखि २ मिनेटसम्म लगातार हर्न बजाउने गरेको पाइएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरका ईन्चार्ज बाशुदेव साँउदका अनुसार बजार क्षेत्रमा जथाभावी हर्न बजाउने सवारी चालकलाई चेतावनी दिने गरिएपनि सवारीसाधनको व्यवस्थापन गर्नमा पटकपटक गुहार्दा समेत स्थानिय तहले साथ नदिँदा यस्तो समस्या देखिएको बताएका छन । इन्चार्ज साँउदले गोकुलेश्वर बजार 'नो हर्न' क्षेत्र नभएकाले पनि यो समस्या आएको र बजार क्षेत्रको हर्न व्यवस्थापनमा आफू लाग्ने प्रतिबद्दता जनाएका छन ।

प्रतिक्रिया