Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०७

कोरोना जोखिमले दार्चुलाका विद्यालय बन्द, स्वमूल्यांकनका आधारमा परिक्षाफल निकाल्ने तयारी

Wide Nepal News
शुक्रबार, बैशाख १७, २०७८
गोकुलेश्वर । दार्चुला सहित देशैभर कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि दार्चुलाका सबै स्थानीय तहले विद्यार्थीहरुको परीक्षा स्थगित गरी विद्यालय बन्द गरेका छन् । विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयमा पठनपाठन तथा शैक्षिक गतिविधि गर्न स्थानीय तहहरूले रोक लगाएका हुन् । जिल्लाका धेरैजसो पालिकाले स्वमूल्यांकनका आधारमा परीक्षा गर्ने निर्णय गरेका छन् । मालिकार्जुन गाउँपालिकाले सबै सामुदायिक र संस्थागत विद्यालयहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । पालिकाभर भौतिक उपस्थितिमा पठनपाठन तथा शैक्षिक गतिविधि गर्न गाउँपालिकाले रोक लगाएको अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले तत्कालका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । बिद्यालयहरुले आन्तरिक मूल्यांकनमा पूर्वपरीक्षाफलका आधारमा ४० प्रतिशत, विषयगत परियोजना कार्यको ४० प्रतिशत, विद्यार्थीको उपस्थिति १० प्रतिशत र अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा १० प्रतिशत गरी विद्यार्थीको मूल्यांकन गरी जेठ ७ गतेभित्र नतिजा सार्वजनिक गर्नेछन् । त्यस्तै, महाकाली नगरपालिकाले विद्यालय बन्द गरी घरमै बसेर परीक्षा कपी लेख्न पेपर र कपी विद्यार्थीलाई दिने गरेको छ । विद्यार्थीलाई कक्षागत रूपमा बोलाएर पेपर र कपी उपलब्ध गराइरहेको महेन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए । ‘विद्यार्थीहरूको शैक्षिकस्तर शिक्षकहरूलाई केही हदसम्म थाहा छ,’ उनले भने, ‘विद्यार्थीले किताब र उत्तरपुस्तिका हेरेर लेखेको थाहा भइहाल्छ । घरबाटै भए पनि जुन विद्यार्थीले मौलिकता दिन्छ, त्यस विद्यार्थीको पढाइ र बुझाइको स्तर पनि मापन गर्न सहज हुन्छ । अधिकांश कक्षाका विद्यार्थीले परीक्षा कपी र पेपर लिइसकेका छन् । त्यस्तै, शैल्यशिखर नगरपालिकामा बिहीबारबाट सञ्चालन गर्ने भनिएका वार्षिक परीक्षाहरू स्थगित गरी भौतिक उपस्थितिबिना वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । विद्यालयस्तरका वार्षिक परीक्षाहरू परियोजना विधिबाट सञ्चालन गर्ने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । परीक्षा स्थगित गरेको र अन्य स्थानीय तहहरूले विद्यालय बन्द गर्ने तयारीमा रहेको जनाइएको छ । मंगलबार जिल्ला प्रशासनमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्र दार्चुलाले कोरोना संक्रमण फैलिने जोखिम बढेको भन्दै तत्काल जिल्लाका शैक्षिक संस्था बन्द गर्न यसअघि सबै स्थानीय तहहरूलाई आग्रह गरेको थियो । भारतलगायत मुलुकमा कोरोनाको दोस्रो लहर चलेको र नेपालमा पनि त्यसको असर देखा परेकाले संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि भीडभाड हुने स्थानमा गतिविधि सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया