Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५५

शनिबार २३ जना संक्रमित थपिएपछि महाकाली नगरपालिकामा निषेधाज्ञा

Wide Nepal News
शनिबार, बैशाख १८, २०७८
दार्चुला । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । नगरपालिकाको विभिन्न वडा र समुदायमा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण फैलिसकेको अवस्थालाई मध्यनजर गर्दै सात दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । महाकाली नगरपालिकाको सिफारिसमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार वैशाख १९ गते विहान ६ बजेदेखि वैशाख २५ गते बेलुकी ६ बजेसम्मका लागि महाकाली नगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताए । यसअघि शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६ मा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । शनिबार दार्चुलाको महाकाली नगरपालिकामा ४८ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार महाकाली नगरपालिकाको धाप, दत्तु र काट्टैमा ४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । परीक्षण गरिएका ४८ जनामध्ये २३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिएका छन । यसअघि शुक्रबारसम्म दार्चुलामा २७ जना कोरोनाका संक्रिय संक्रमित रहेका थिए । महाकालीमा २३ जना थपिएसंगै दार्चुलामा संक्रिय संक्रमितको संख्या ५० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया