Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०३

कोरोना जोखिम रोकथाममा शैल्यशिखर नगरपालिकाको तयारी खै ?

Wide Nepal News
आइतबार, बैशाख १९, २०७८
दार्चुला : गत बिहिवार शैल्यशिखर नगरपालिकाका ५ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भयो । वडा नम्बर ९, नायलका ४ जना र वडा नम्बर ६, ग्वानीका १ जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएसङ्गै फेरि एकपटक शैल्यशिखर सहित दार्चुला जिल्लाभरी कोरोनाको त्रास फैलिएको छ । विहिबार र शुक्रबारसम्ममा गोकुलेश्वर अस्पतालका ७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भइसकेको छ । जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै बिहिवारदेखि जिल्लाका शैल्यशिखर नगरपालिका सहित मार्मा गाउँपालिका, व्यास गाउँपालिका र शनिबारदेखि महाकाली नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका मानिसहरू भारतबाट आएको बताइएको छ । अहिले भारतमा कोरोना संक्रमितको संख्या करोड बढी नाघेको छ भने हरेक दिन ३ हजारभन्दा बढी संक्रमितको ज्यान गइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । यसबीचमा कामको सिलसिलामा भारत पसेका नेपाली मजदुर भारतमा लकडाउन गरिएसङ्गै नेपाल फरर्किरहेका छन । भारतमा भेटिएको नयाँ भेरियन्टको कोरोना भाइरस अरूभन्दा खतरनाक र जोखिमयुक्त छ भनेर चिकित्सक तथा विश्व स्वास्थ्य संगठन (WHO)ले पुष्टि गरिसकेको परिवेशमा शैल्यशिखर नगरपालिकाले पनि आफ्ना नगरबासिलाई यसबाट सचेत रहन आग्रह र नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । नगरबासिलाई मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजर लगाउन, अनावश्यक भिडभाड नगर्न तथा अत्यावश्यक काम बाहेक घरमै रहन आग्रह गर्नु बाहेक नगरपालिकाले तत्काल अन्य कुनैपनी पूर्वतयारी गरेजस्तो नदेखिएकाले पनि कोरोना जोखिम न्यूनीकरणका लागि नगरपालिकासित प्रयाप्त तयारी नरहेको अनुमान सहजै लगाउन सकिन्छ । यतिबेला कोरोनाको जोखिम बढेको भन्दै शैल्यशिखर नगरपालिका भित्र रहेका सबै विद्यालय बन्द अवस्थामा रहेका छन । फराकिलो नेपाल साप्ताहिक सितको संवादमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले पनि नगरबासिलाई कोरोना जोखिमबाट सबैलाई सचेत रहन आग्रह गरेका छन । नयाँ भेरियन्टमा देखिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि शैल्यशिखर नगरपालिकाको भूमिका कस्तो रहने ? भन्ने हाम्रो जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत बिष्टले नगरबासिलाई कोरोना भाइरसको जोखिमबाट सचेत रहन आग्रह गरेसङ्गै कोरोना भाइरसका शंकास्पद र संक्रमितको व्यवस्थापनका लागि नगरपालिकाले सक्दो चाडो आफूहरू क्वारेन्टाइन रआइसोलेशन व्यवस्थापनमा जुटिरहेको बताएकाछन । उनले नगरपालिकाको विपद व्यवस्थापन समितिलाई सक्रिय गराइ कोरोना भाइरस नियन्त्रण गर्ने तयारी भइरहेको जिकिर गरेका छन ।
गत बर्ष कोरोना रोकथामका लागि भन्दै झण्डै सात करोड भन्दा बढि रकम खर्च गरेको शैल्यशिखर नगरपालिकाले अहिले केके तयारी गरिरहेको छ ? सो कुरा आमचासो बिषय बनेको छ ।
कोरोना जोखिम बढेको कारण देखाउदै शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा जारी गर्नका लागि पालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सिफारिस गरेपश्चात प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीद्वारा हस्ताक्षर गरिएको सहितको निषेधाज्ञा आदेशमा बिहिवार राती नौबजे बाट लागू हुने गरि ३ दिनदेखि नगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको छ भने गोकुलेश्वर बजारसहित नगरका अन्य ठाउँमा पनि आंशिक प्रभाव देखिएको छ । अवस्था यस्तै रहने हो भने कोरोना भाइरसले विकराल परिस्थितिको सामना गर्नुपर्ने स्थिति सिर्जना हुने गोकुलेश्वरका चिकित्सकले बताएका छन । गोकुलेश्वर प्राथमिक अस्पतालमा केहि दिनयता टाउको दुख्ने, ज्वरो आउने तथा स्वाससम्बन्धि समस्या भएका कोरोना भाइरसको लक्षण देखिने सयौं मानिसहरू उपचार गर्न आइरहेका छन । तिमध्ये कतिपय शंकास्पद व्यक्तिको चेकजाँच गरि स्वाब महेन्द्रनगर, धनगढी, डडेल्धुरा लगायतका अस्पतालमा पठाउदा कोरोना रिपोर्ट पोजिटिभ आइरहेको गोकुलेश्वर प्राथमिक अस्पतालका प्रमुख डाक्टर नेयाज अन्सारीले जानकारी दिएका छन । डा. अन्सारीले अस्पतालसित भेन्टिलेटरको समस्याका कारण कतिपय बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता भएपनी २० वटा भन्दा बढी अक्सिजन सिलिन्डरको व्यवस्था रहेको बताएका छन । उनले अस्पतालमा आइसोलेशन कक्षहरू तयार रहेको र शैल्यशिखर नगरपालिकाको पुरानो भवनमा २० शैय्याको अस्थायी आइसोलेशन सेन्टर निर्माण भइरहेको जानकारी फराकिलो नेपाल साप्ताहिकलाई दिए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले १६, बैशाख राती ९ बजेदेखि गरेको निषेधाज्ञालाई अनिश्चितकालीन समयका लागि जारी गरिएको छ । कोरोना जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गरिदिन पालिकाले जिल्ला प्रशासनलाई बिहिवार सिफारिस गरेको थियो । सोहिअनुरूप जिल्ला प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयकाले जारी गरेको सुचना अनुसार ३ दिनदेखि शैल्यशिखर नगरपालिकाको वडा नम्बर १, को बलाच बजार क्षेत्र, वडा नम्बर २, को देथला बजार क्षेत्र, वडा नम्बर ३, को कर्कले बजार क्षेत्र, त्यस्तै वडा नम्बर ५ र ६ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नम्बर ९ को गोकुलेश्वर, कठपते, गाजरी, नायल र घट्टीगाड लगायतका क्षेत्रमा अर्को आदेश नआउँदा सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ भने सो क्षेत्रमा निषेधाज्ञाको प्रभाव शुक्रबारदेखि आंशिक देखिएको छ । शुरुमा चीनको वुहान शहरबाट फैलिएको यस भाइरसले विगत १८ महिनादेखि नेपाल सहित बिश्वभर महाव्याधिको रूप लिएर मानवजातिलाई त्रसित बनाउदै आइरहेको छ । अहिलेसम्म विश्वभर १ लाख ५५ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन भने ३२ लाख भन्दा धेरैले ज्यान गुमाएका छन । नयाँनयाँ भेरियन्टमा देखिइरहेको यो भाइरसले अहिले भारतमा आतंक नै मच्चाएको छ । नेपालमा पनि यतिखेरको।ोना भाइरस नेपालगन्ज, धनगढी र महेन्द्रनगर लगायतका शहरमा दिनप्रतिदिन फैलिदै गइरहेको छ । नेपालमा अहिलेसम्म ३ लाख २० भन्दा बढिमा यो संक्रमण पुष्टि भएको छ भने झण्डै ३३ सय भन्दा धेरैले ज्यान गुमाएका छन । यस्तै भयावह स्थिति रहने हो भने संक्रमित हुने र ज्यान गुमाउने मानिसहरूको संख्या अझै बढ्ने अनुमान गरिएको छ । दिनप्रतिदिन विकराल रुप लिइरहेको कोरोना भाइरसबाट बच्न व्यक्ति स्वयमले जिम्मेवार हुनुका साथै स्थानिय तह सहित सरकारी र गैरसरकारी संघसंस्था सबैले जिम्मेवार बन्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया