Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०७:२१

दार्चुलामा यार्सागुम्बा संकलनको लागि अनुमति पत्र वितरणमा रोक

Wide Nepal News
बुधबार, बैशाख २२, २०७८
दार्चुला : अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यस वर्षको यार्सागुम्बा संकलनको लागि वैशाख पहिलो साताबाट संकलन इजाजत खुला गरेकोमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै अनुमति पत्र वितरणमा रोक लगाएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले कोरोनाको संक्रमण बढ्दै गएको भन्दै संकलन इजाजत वितरण कार्य रोक लगाउन आग्रह गर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमण सबै क्षेत्रमा बढेको भन्दै संरक्षण क्षेत्रले गर्दै आएका यार्सागुम्बा संकलन सम्बन्धी कार्य रोक लगाउन अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई आग्रह गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सदरमुकाम खलंगास्थित अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय, राप्ला सेक्टर कार्यालय सुनसेरा, खण्डेश्वरी सेक्टर कार्यालय लटिनाथ, खण्डेश्वरुी रेन्जपोष्ट, विटुले रेन्जपोष्ट, खार रेन्जपोष्ट, व्यास रेन्जपोष्ट, सिप्टी, पारिबगर र श्रीवगड पोष्टबाट संक्लन इजाजत्र पत्र वितरण गरिरहेको थियो । यार्सागुम्बा संकलन र अनुमति पत्र वितरण रोकको लागि पत्र आएमा विभागसँग समन्वय गरेर बन्द गराइने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका दर्जन बढि पाटनहरुमा हरेक वर्ष जेठ महिनामा झण्डै पाँच क्विन्टल यार्सागुम्बा संकलन हुँदै आएकोमा गत वर्षदेखि कोरोना महामारीको कारण यार्सा संकलन कार्य प्रभावित भइरहेको छ । हिमाली क्षेत्रका जनताको मुख्य आयस्रोतका रुपमा यार्सागुम्बा रहेकोले यार्सा संकलनमा रोक लगाए जीविकोपार्जनमा समस्या हुने स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया