Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०१:५८

बुटवलका दृष्टिविहीन ठटाल दम्पती ३ दिनदेखि दार्चुलामा अलपत्र

Wide Nepal News
आइतबार, बैशाख २६, २०७८
दार्चुला : लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका घर भएका भीम ठटाल दम्पतीको जिन्दगी कहिले सडकका पेटीहरूमा, कहिले गल्लीहरूमा त कहिले चोकहरूमा गीत गाउदै बितिरहेको थियो । शारीरिक रूपमा अपाङ्ग ठटाल र उनकी श्रीमती दृष्टिविहीन हुन । गित गाउदै जम्मा भएको केही पैसाबाट आफ्नो गुजारा गरिरहेका उनीहरू नेपालका थुप्रै ठाउँ पुगिसकेका छन । घामपानी, हुरीबतास नभनी सबै दुख, अप्ठ्यारा सहदै ठाउँठाउँमा गीत गाउदै हिड्थे । गीत गाउदै आफ्नो भोको पेट पाल्ने क्रममा ठटाल दम्पती यतिबेला सुदूरपश्चिमको दार्चुला पुगेका रहेछन । नेपाल सहित विश्वभरि कोरोना भाइरसले विकराल रूप लिइरहदा नेपाल सरकारले जारी गरेको निषेधाज्ञाले उनीहरुको दैनिकीलाई अस्तव्यस्त बनाइदियो । गाउदै नयाँनयाँ ठाउँ पुगेर दुइचार पैसा कमाइरहेका उनीहरूलाई सरकारले जारी गरेको निषेधाज्ञाले गहिरो चोट दिएको छ । अहिले उनीहरू न सडकपेटीमा गीत गाउन पाइरहेका छन न त आफ्नो घर फर्किन नै । गीत गाउदै भोको पेट पाल्ने सिलसिलामा गत साताको बिहिवार कैलालीको अतरियाबाट जसोतसो दार्चुलाको गाडी चढेका उनीहरू शुक्रबारदेखि दार्चुलाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरमा अलपत्र परेका रहेछन । शुक्रबारदेखि गोकुलेश्वर बजारमा रहेको प्रहरी विट नजिकै एउटा बेन्चमा बसेर दिनरात कटाइरहेका उनीहरूलाई सदरमुकाम खलंगा पुग्ने साधन नहुदा गोकुलेश्वर बजारमा तीन दिनदेखि अलपत्र परेका हुन । खुल्ला आकाशमुनि ३ दिनदेखि भोकभोकै रातदिन कटाइरहेका दृष्टिविहीन भीम ठटाल दम्पती आफूले साह्रै दुख पाइरहेको बताए । उनीहरूलाई गोकुलेश्वरका केही परोपकारी व्यक्तिहरूले सक्दो खानेकुरा र नगद सहयोग गरिरहे । गोकुलेश्वरमा अलपत्र परेका ठटाल दम्पप्परुतीको अवस्थाबारे हामीलाई थाहा हुने बित्तिकै उनीहरूको उद्वारका लागि शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीलाई सम्पर्क गर्दा उनको फोन उठेन । केही दिनअघि नगरप्रमुख धामीले आफूले प्रयोग गर्ने गाडीलाई बिरामी बोक्न प्रयोग गर्न दिने घोषणा गरेकाले पनि अलपत्र परेका ठटाल दम्पतीको उद्वार गरिदिन्छन कि भन्ने अड्कल लगाएका थियौ । प्रहरीले दुइ सवारीसाधनलाई उनीहरूको गन्तव्यसम्म लगिदिन आग्रह गर्दा समेत कसैले पनि लैजान नमानेको बताइरहेका थिए । यता भीम ठटाल भने आँखा नदेख्नेभएकाले हिडेर जान नसकिने हुँदा आफ्नो उद्वार गरिदिन आग्रह गरिरहेका थिए । उनीहरूलाई जसरी पनि सदरमुकाम खलंगा पुग्नु थियो । अन्ततः गोकुलेश्वर प्रहरी सितको सक्रियतामा ३ दिनदेखि अलपत्र रहेका ठटाल दम्पतीलाई ३ दिनपछि आइतबार (साझ) उद्वार गरिएको छ । उनीहरूलाई म १ ज २७८ नम्बरको हाइस मार्फत सदरमुकाम पठाइएको हो ।

प्रतिक्रिया