Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:०९

आमा तिमीले भारी बोकेर पढाएको याद छ मलाई

Wide Nepal News
मङ्गलबार, बैशाख २८, २०७८
आमा तिमिले भारी बोकेर पढाएको याद छ मलाई । पछ्यौरीले ढाक्दा ढाक्दा झुम्रिएको कपाल पनि याद छ मलाई । कापी, कलम किन्न र कलेजको फिस तिर्न भारी बोकेर तिमिले पैसा दिदा रित्तिएको पटुकि पनि याद छ मलाई । आफु भोकै बसि मलाई नै खुवाएर घाँस काट्न जादा बोकेको डोको पनि याद छ मलाई । तिम्रो सयौँ ठाउँमा च्यातिएको धोतिमा टालो हालेर मेरो लागि सिलाएको नयाँ लुगा संगै नयाँ धोती लगाउने धोको पनि याद छ मेरी आमा । स्कुलबाट रन्फनिदै रन्थनिदै भोकले म घर आउदा तिमिले राखेको कासको थालको त्यो ढिडो याद छ आमा । अहिले त डोको पनि भाचियो थाल पनि फुटेर गयो अनि नयाँ धोती लगाउने धोकोको कुरै नगरौ । विदाको दिन हजुर संगै भारी बोक्न जादा मेरो भारीलाई पनि भारी माथि बोक्ने हजुरको हिम्मत याद छ आमा । नवल्ने दाउरा अगेनामा झोक्दै फू–फू गर्दै आँखावाट आँसु चुहाउदै खरानीमा सेकाएको रोटी फेरि खान मन छ मेरी आमा । यो नसम्झिनु छोरो आजकल देशैभरि लकडाउन हुदा भोकै होला भनेर, थाहा छ आमा छोरोले आजकल तन्दुरी रोटी र चिकन करी खान्छ । तर जति जे–जे खाए पनि चाहे भगवानले अमृत नै दिए पनि मलाई तिमिले दिने कासको थालको ढिडो भन्दा कयौ गुना फिक्का लाग्छ आमा । आमा तिमिले छोराको लागि गर्नु पर्ने कर्तव्य पूरा गर्यौ र म यहाँ सम्म पुगे । आमा अफिस छिर्दा वा निस्किदा यहाँकै परिश्रमले लगाएको पैन्ट सर्ट संगै जुत्ताको सूलमा टेक्दा तिम्रो बूढो छातीमा टेकै जस्तै लाग्छ आमा । अरुले दिएको लाख भन्दा आमाको काख नै प्यारो लाग्छ मेरी आमा । (माता तिर्थ औसीको शुभ अवसरमा सबै–सबै आमाहरुमा प्रणाम तथा धेरै धेरै शुभ–कामना)

प्रतिक्रिया