Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०१:५५

ब्यासबासिलाई चामल पाउनै सकस

Wide Nepal News
बुधबार, बैशाख २९, २०७८
दार्चुला : दार्चुलाको उत्तरी भागमा अवस्थित चीन र भारतको सिमावर्ती क्षेत्र ब्यासमा खाद्य संस्थानको चामल पाउन स्थानीयहरुलाई सकस भइरहेको छ । नेपाल सरकारले ढुवानी अनुदानमा विक्री वितरण गर्दै आएको खाद्य संस्थानको चामलको कोटा लगभग सकिन थालेपछि खाद्यान्न अभाव हुने चिन्ता स्थानीयहरुले व्यक्त गरेका छन ।
हाल कोरोना प्रभावका कारण जिल्लाभर निषेधाज्ञा जारी गरिएको अवस्थामा स्थानीय व्यापारीहरुले चामलको मुल्यमा दोब्बर बृद्धि गरि वितरण गरिरहेको र खाद्यान्नको चामल ढुवानी नहुदाँ आफूहरु मर्कामा परेको स्थानियहरुको गुनासो छ । खाद्य संस्थानको चामल वितरणका लागि ब्यास गाउँपालिका वडा नम्बर ४ सुन्सेरामा रहेको खाद्य डिपोमा कर्मचारी नै राखिएको छ । तर खलंगाबाट सुन्सेरा सम्म चामल ढुवानी गर्ने ढुवानीकर्ताले समेत मनपरि बाटोमै वितरण गर्दा सर्वसाधारणहरुले चामल पाउन कठिन भइरहेको उनीहरुको आरोप छ ।
ढुवानी गर्ने ट्याक्टर ब्यवसायीहरुले नै मनपरि वितरण गर्दा सडक नजिक बाहेकका जनताले खाद्य संस्थानको चामल पाउनै सकस भइरहेको ब्यास गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेमसिंह धामीको गुनासो छ । सुन्सेरा खाद्य डिपोको वितरण गर्ने ठाउँमा चामल वितरण नभई ढुवानी कर्ताले मनपरि वितरण गर्ने गरिरहेको धामीको भनाई छ ।
सुन्सेरा, राप्ला तथा छाङरुका लागि चामल ढुवानीको जिम्मेवारी पाएका ढुवानी कर्ता प्रेमसिंह धामीले भने आफूले बाटोबाट कुनै स्थानमा पनि बितरण नगरेको दाबी गरेका छन् । ‘अहिलेसम्म बाटोमा वितरण गरेको छैन, सुन्सेरामा वितरण गर्दा पनि सुरक्षाकर्मीको रोहोबरमा वितरण गरेको छु’ ढुवानी कर्ता धामीले भने । स्थानीयहरुले हुतीमा समेत ढुवानी कर्ताले चामल वितरण गर्ने गरेको आरोपको ढुवानीकर्ता धामीले भने खण्डन गरेका छन् ।
सुन्सेरामा खाद्य संस्थानको चामलको अभाव भएपछि खाद्यको चामल पुग्ने बित्तिकै स्थानीयहरुले ट्याक्टरमै पुगेर चामल निकालेर लिने गरेका छन् । कसैले ६÷७ भन्दा बढी बोरा चामल लिने गरेको त कसैलाई एउटा बोरा चामल पनि पाउन मुस्किल हुने अवस्था रहेको स्थानीयहरुको गुनासो छ । पछिल्लो समय सुन्सेरा डिपोको चामल ढुवानी हुन नसकेकाले सुन्सेरामा खाद्यान्न अभाव भएको छ ।
खाद्य संस्थानको चामल बाह्य पसलहरुको तुलनामा सस्तो हुने गरेको छ । सस्तो चामल स्थानीयहरुलाई अपुग हुदाँ निषेधाज्ञाले महंगिएको चामल पनि किन्न स्थानीयहरु बाध्य छन् । यसअघि १८ सयमा पाउने चामलको एउटा बोराको मूल्य अहिले २५/२६ सय पुगेको स्थानीयले बताएका छन ।
सुन्सेरा डिपोका लागि एक हजार क्वीन्टल कोटा चामल रहेको र हाल सम्म ८ सय ६५ क्वीनटल चामल ढुवानी भइसकेको ढुवानीकर्ता प्रेमसिंह धामीले बताए । असोजबाट सुन्सेरामा खाद्यान्नको चामल ढुवानी भइरहेको उनको भनाई छ । सुन्सेरा डिपोका लागि करिब १ सय ३५ क्वीनटल चामलमात्रै ढुवानी गर्न बाँकी रहेको र ढुवानी गर्न बाकी चामल धनगढीबाटै नआएको धामीको भनाई छ । ‘ठेकेदारको निधन भएकाले बाँकी चामल धनगढीबाट आएको छैन, ठेकेदारको प्रतिनिधि आएपछि बाकी चामल ढुवानी हुन्छ’ ढुवानीकर्ता धामीले भने ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढी मार्फत ब्यास गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरामा खाद्य डिपो तथा वडा नम्बर २ राप्ला र वडा नम्बर १ छाङरुमा वितरण केन्द्र मार्फत चामल वितरण हुने गरेको छ । सुन्सेरामा विगत देखि नै डिपो सञ्चालमा रहेको थियो भने राप्ला र छाङरुमा सरकारले चालु आर्थिक वर्षबाट वितरण केन्द्र सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया