Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:२७

गोकुलेश्वरमा २५ बेडको आइसोलेसन तयार, खलंगामा तयारी हुँदै

Wide Nepal News
बिहिबार, बैशाख ३०, २०७८
दार्चुला । शैल्यशिखर नगरपालिकामा २५ बेडको आइसोलेसन निर्माण गरिएको छ । गत हप्ता जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) दार्चुलाको बैठकले जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा पचास/पचास बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो । सोहि निर्णयअनुसार शैल्यशिखर नगरपालिकाको पुरानो कार्यालय रहेको भवनमा २५ बेडको आइसोलेसन तयार गरिएको शैल्यशिखरका नगरप्रमुख अमरसिंह धामीका स्वकीय सचिव सुरेश बिष्टले जानकारी दिएका छन । 'वाइड नेपाल न्यज'सितको कुराकानीमा स्वकिय सचिब बिष्टले आइसोलेसन कक्षमा अक्सिजन, शौचालय, खानेपानी लगायत आवश्यक पुर्वाधारको व्यवस्थापन गरिएको बताएका छन। आइसोलेसनमा बस्ने बिरामीहरुको चाप हेरेर बेड थप गरिने नगरपालिकाले जनाएको छ । जिल्लाभरी कोरोना संक्रमित फेला परेपछि कोरोना उपचार, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । दार्चुलाका स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसन बनाउन सक्रियता नदेखाएको भन्दै आलोचना भइरहेको बेला शैल्यशिखर नगरपालिकाले आइसोलेसन कक्ष निर्माण गरेको हो । दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबि खलंगामा समेत आइसोलेसन बनाउने तयारी भइरहेको छ । शैल्यशिखर नगरपालिका अन्तरगत रहेको गोकुलेश्वर अस्पतालमा समेत अस्पताल व्यवस्थापन समितिको बैठक बसेको छ । नगरप्रमुख अमरसिंह धामीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमितको उपचारका साथै कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न विषयमा छलफल गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया