Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:२५

दार्चुलाका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर जुटाउदैँ प्रहरी

Wide Nepal News
शुक्रबार, बैशाख ३१, २०७८
गोकुलेश्वर : दार्चुलाहित देशैभर फैलिरहेको कोरोनामा भाइरसको संक्रमणले अस्पतालहरुमा बिरामीहरुको चाप बढ्न थालेपछि अक्सिजनको अभाव हुन थालेको छ । गत मंगलबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरले चमेलिया जलविद्युत केन्द्र बलाँचबाट अक्सिजन सिलिण्डर खोजेर गोकुलेश्वर अस्पताललाई हस्तान्तरण गरेको थियो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुुख एवं प्रहरी निरिक्षक अरुण बमले आफूहरुले अस्पतालमा अक्सिजनको अभावको कारण कसैको पनि ज्यान गुमाउन नपरोस भन्दै अक्सिजन व्यवस्थापनका लागि अन्य ठाँउमा पनि पहल भइरहेको बताएका छन । यसैबिच जिल्ला प्रहरी कार्यालय दार्चुलाले अक्सिजन सिलिण्डर संकलन गर्न थालेको छ । जिल्ला अस्पताल दार्चुलामा अक्सिजनको अभाव सिर्जना हुन सक्ने भन्दै प्रहरीले विभिन्न क्षेत्रबाट अक्सिजन सिलिण्डर संकलन गर्न सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आज ३ थान अक्सिजन सिलिण्डर संकलन गरि शुक्रवार जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल दार्चुलालाई २ थान भरिएको र एक थान खाली सिलिण्डर बुझाइएको छ । जिल्लास्थित विभिन्न उद्योग, सप्लायर्स, ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य संघसंस्थासँग रहेका खाली तथा भरिएका अक्सिजन सिलिण्डर पछि फिर्ता गर्ने गरी संकलन गर्दै अस्पताललाई बुझाइएको बताइएको छ । सम्बन्धित उद्योग, व्यवसायी, संस्था तथा कम्पनीहरुलाई पछि फिर्ता गर्ने गरी यस जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहत कार्यालयबाट समेत संकलन गरि वर्तमान संक्रमणको अवस्थामा संक्रमित बिरामीहरुको उपचारार्थ अस्पतालहरुमा पठाउने गरी अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरिरहेको प्रहरीले जनाएको छ । अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत खाली तथा भरिएको सिलिण्डर सङ्कलन गर्ने अभियान प्रहरीले जारी राखेकाले सो अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया