Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०१:५२

युवा नेता तथा उद्यमी भण्डारीद्वारा कोरोनाले ज्यान गुमाएकाको परिवारलाई खाद्यान्न सहयोग

Wide Nepal News
आइतबार, जेठ ०२, २०७८
दार्चुला : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दार्चुलाका नेता तथा युवा उद्यमी भुवन भण्डारीले गोकुलेश्वरका विभिन्न ठाँउमा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेका छन । उनले आज कोरोना भाइरसबाट ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप खाद्य सामग्री सहयोग गरेका छन । गत बैशाख २५ गते कोरोना भाइरसको कारण शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरमा बस्ने किडी बादीको मृत्यु भएको थियो । मृतक बादीको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण आइतबार उनको परिवारलाई राहतस्वरूप खाद्यसामग्री सहयोग गरिएको नेता भण्डारीले बताएका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका नेता भण्डारीले आजै गोकुलेश्वरको बादी समुदायमा मास्क तथा सेनिटाइजर वितरण गरेका छन । कोरोना भाइरसको जोखिमबाट सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले २ सय जति मास्क वितरण गरिएको जानकारी 'वाइड नेपाल न्युज' लाई दिएका छन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण : यसैबीच युवा नेता भण्डारीले आजै गोकुलेश्वरमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन । उनले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि अग्रपंक्तिमा रहेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू प्रती आभार व्यक्त गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताएका छन । उनले गोकुलेश्वर अस्पताल, इलाका प्रहरी कार्यालय र 'वाइड नेपाल न्युज' का पत्रकारलाई मास्क तथा सेनिटाइजर वितरण गरेका हुन । गोकुलेश्वर अस्पतालको अवस्थाबारे चिकित्सकसित छलफल : कोरोना भाइरसको संक्रमण रोकथामका लागि जनप्रतिनिधिहरू गम्भीर नदेखिएको आरोप लगाउदै माओवादी केन्द्र दार्चुलाका नेता भण्डारीले गोकुलेश्वर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीसित अस्पतालको अवस्थाबारे छलफल गरेका छन । छलफलका क्रममा गोकुलेश्वर अस्पतालका प्रमुख डाक्टर नेयाज अन्सारीले केही समयपहिले मास्क अभावमा पनि बिरामीको सेवा गर्नुपरेको सम्झिदै स्वास्थ्यसामग्री सहयोग गरेकोमा भण्डारीलाई धन्यवाद व्यक्त गरेका छन । बिरामीहरू आउने क्रम चलिरहेकाले पनि अस्पतालसित प्रयाप्त मात्रामा स्वास्थ्य सामग्री नरहेको र अक्सिजन अभाव समेत हुनसक्ने बताउदै डा. अन्सारीले उनीसँग अक्सिजन सिलिन्डर जुटाइदिन अनुरोध गरेका छन । नेता भण्डारीले पनि आफ्नो अबको कदम अस्पतालमा अक्सिजनको व्यवस्थापन गर्नमा केन्द्रित रहने बिश्वास व्यक्त गरेका छन । उनले भने,"अहिलेको परिस्थितिमा जनप्रतिनिधिहरू सक्रिय हुनुपर्ने हो तर त्यस्तो देखिएन । आफूले सक्दो छि अस्पतालमा अक्सिजन उपलब्ध गराउने प्रयास गर्छु ।" नेता भण्डारीको नगरपालिकाभरी मास्क वितरण अभियान : युवा नेता तथा उद्यमी भण्डारीले मंगलबारदेखी शैल्यशिखर नगरपालिकाका सबै वडामा मास्क तथा सेनिटाइजर वितरण गर्ने तयारी रहेको जानकारी दिएका छन । "नगरपालिकाका ९ वटै वडामा कोरोना भाइरसको बढ्दो संक्रमणले स्थानीयलाई डर, त्रास फैलिएको छ । सबै नगरपालिकाका सबै वडामा मंगलबारदेखी ३० हजार मास्क वितरण गर्ने तयारीमा जुटेका छौ, अहिले आफूसित १२ हजार पिस जति डिस्पोजिबल मास्क रहेका छन । भोलिसम्म अरू थप मास्क पुग्दैछन । अब सबै वडाका साथीभाइको साथ लिएर मास्क वितरण गर्ने तयारी भइरहेको छ ।" उनले भने । सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा उनीसित माओवादी केन्द्र दार्चुलाकि नेतृ बसन्ती साउँद र वाइसिएलका नगर संयोजक चुडामणी साउँद सहित अन्य कार्याकतांहरुको उपस्थिति रहेको बताइएको छ । नेता भण्डारीले यस भाइरसको संक्रमणबाट सबैले सुरक्षित रहन आग्रह गरेका छन ।

प्रतिक्रिया