जिल्ला अस्पताल दार्चुलामा अक्सिजन अभाव, कोरोना संक्रमित डडेल्धुरा रेफर
Wide Nepal News
बुधबार, जेठ ०५, २०७८
दार्चुला : स्वासप्रस्वासमा समस्या देखिएपछि दार्चुलाबाट एक जना कोरोना संक्रमित पुरुषलाई डडेल्धुरा रेफर गरिएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषलाई डडेल्धुरा अस्पताल रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
जेठ १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि भर्ना गरिएको थियो । स्वासप्रस्वासको समस्या बढ्न थालेपछि दार्चुलाबाट डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिएका छन ।
अहिले उनको शरीरमा अक्सिजनको मात्रा ६२ को लेबलमा चलिरहेको अस्पतालले जनाएको छ । दार्चुला अस्पतालमा अक्सिजन र आईसियु प्रर्याप्त नभएका कारण उनलाई थप उपचारका लागी डडेल्धुरा रेफर गरिएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल दार्चुलामा अहिले सात जना कोरोना संक्रमतिको उपचार भइरहेको छ । हालसम्म एक जना महिला सहित तीन जनालाई अस्पतालबाट रेफर गरिएकोमा दुई जनाको मृत्यु भइसकेको छ ।
दार्चुला अस्पतालमा प्रदेश सरकारको सहयोगमा प्राप्त दुई वटा भेन्टिलेटर मध्ये एउटा मात्रै सञ्चालनमा छ । दोस्रो भेन्टिलेटर सञ्चालनका लागि आवश्यक उपकरण मगाइएको अस्पतालले जनाएको छ ।
बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालमा अक्सिजन, आइसियु र भेन्टिलेटर थप आवश्यक परेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अहिले दार्चुलामा महाकाली नगरपालिकाका १५१ सहित जिल्लाभरी चार सय कोरोना संक्रमित रहेका छन् । अधिकासं सक्रमित होम आइसोलेसनमा भएकोले अस्पताल भर्ना गर्नुपर्ने अवस्था आए सम्भव नरहेको बताइएको छ ।
दार्चुलामा कोरोना संक्रमणका कारण आठ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया