Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१३

दार्चुलामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो

Wide Nepal News
बुधबार, जेठ ०५, २०७८
दार्चुला : स्वासप्रस्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दार्चुलाबाट डडेल्धुरा अस्पताल रेफर गरिएका एक जना कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको डडेल्धुरा अस्पताल लैजादै गर्दा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ धामीगाडा नजिक मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिएका छन । जेठ १ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि भर्ना गरिएको थियो । स्वासप्रस्वासको समस्या बढ्न थालेपछि दार्चुलाबाट डडेल्धुरा रेफर गरिएकोमा अस्पताल नपुग्दै बाटोमै ज्यान भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गइरहेको थियो । दार्चुला अस्पतालमा अक्सिजन र आईसियु प्रर्याप्त नभएका कारण थप उपचारका लागी डडेल्धुरा रेफर गरिएको थियो । जिल्ला अस्पताल दार्चुलामा अहिले सात जना कोरोना संक्रमतिको उपचार भइरहेको छ । हालसम्म एक जना महिला सहित तीन जनालाई अस्पतालबाट रेफर गरिएकोमा तीनै जनाको मृत्यु भइसकेको छ । यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण नौँ जनाले ज्यान गुमाइसकेका छन् । दार्चुला अस्पतालमा प्रदेश सरकारको सहयोगमा प्राप्त दुई वटा भेन्टिलेटर मध्ये एउटा मात्रै सञ्चालनमा छ । दोस्रो भेन्टिलेटर सञ्चालनका लागि आवश्यक उपकरण मगाइएको अस्पतालले जनाएको छ । बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालमा अक्सिजन, आइसियु र भेन्टिलेटर थप आवश्यक परेको अस्पताल व्यवस्थापन समितिले बताएको छ । अहिले दार्चुलामा महाकाली नगरपालिकाका १५१ सहित जिल्लाभरी चार सय कोरोना संक्रमित रहेका छन् । अधिकासं सक्रमित होम आइसोलेसनमा भएकोले अस्पताल भर्ना गर्नुपर्ने अवस्था आए सम्भव नरहेको बताइएको छ ।

प्रतिक्रिया