Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०४:१७

राष्ट्रिय आविष्कार केन्द्र र सामाजिक बिकास मन्त्रालयद्वारा दार्चुला अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

Wide Nepal News
शुक्रबार, जेठ ०७, २०७८
दार्चुला : डाक्टर महाविर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र र सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पता दार्चुलाका लागि स्वास्थ्य उपकरण पठाएका छन । डा. पुनको राष्ट्रिय आविष्कार केन्द्रले जिल्ला अस्पताल दार्चुलाका लागि आवस्यक पर्ने अक्सिजन रेगुलेटर र प्रदेशस्थित सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति विभागले अन्य अत्यावस्यक स्वास्थ्य उपकरण बिहिबार दार्चुला पठाएका हुन । उक्त स्वास्थ्य उपकरणहरु जिल्ला अस्पताल दार्चुला र 'दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च'को सहजीकरण तथा समन्वयमा दार्चुला पठाइएको 'दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च'का संयोजक कृष्ण महराले जानकारी दिएका छन । संयोजक महराले जिल्लामा स्वास्थ्य सामग्री तथा उपकरण अभावमा दार्चुलाबासिले ज्यान गुमाउनु परिरहेको सम्झिदैं संकटको बेला सहयोग गरेकोमा डा. महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई मञ्चको तर्फबाट धन्यवाद व्यक्त गरेका छन । काठमाडौं र धनगढी गरि दुबै ठाँउबाट प्राप्त भएका स्वास्थ्य उपकरण 'दार्चुला कोभिड १९ सहयोग तथा समन्वय मञ्च'का सदस्यहरुद्वारा (बिहिबार) हिजो नै दार्चुला पठाइएको छ । जिल्लामा कोभिड-१९ संक्रमणले विकराल रुप लिन थालेपछि आपतकालीन रूपमा सहयोग तथा सहजीकरण गर्न दार्चुलाका युवाहरुद्वारा गठन गरिएको 'दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च'ले जिल्लाको वर्तमान स्वास्थ्य अवस्थाको जानकारी संकलन गर्दै व्यवस्थापनका लागि पहल गर्दै आएको छ । राष्ट्रिय आविष्कार केन्द्र र सामाजिक बिकास मन्त्रालयद्वारा दार्चुला अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेपछि पेसाले अधिवक्ता समेत रहेका 'दार्चुला कोभिड-१९ सहयोग तथा समन्वय मञ्च'का संयोजक महराले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन :
राष्ट्रिय आविष्कार केन्द्र र सु.प. प्रदेश सरकारद्वारा दार्चुलालाई केही स्वास्थ्य उपकरण उपलब्ध ।
डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र सुदुरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको आपूर्ति विभागबाट जिल्ला अस्पताल दार्चुलालाई स्वास्थ्य उपकरण उपलब्ध गराएको छ । आविष्कार केन्द्रले अक्सिजन दिनुपर्ने बिरामीलाई अत्यावश्यक अक्सिजन रेगुलेटर र प्रदेशस्थित आपूर्ति व्यवस्थापनले अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री-उपकरण उपलब्ध गराएको छ ।
ती स्वास्थ्य उपकरणहरु आजै काठमाडौं र धनगढीबाट दार्चुला पठाईसकिएको छ । स्वास्थ्य उपकरण-सामाग्रीहरु जिल्ला अस्पताल दार्चुला र आपतकालीन रूपमा सहयोग तथा सहजीकरण गर्न दार्चुलाका युवाहरुद्वारा गठित 'दार्चुला(कोभिड-१९) सहयोग तथा समन्वय मञ्च'को समन्वय र सहजीकरणमा दार्चुला पठाईएको छ ।
महामारीको यस दु:खद घडीमा थोरै भएपनि मल्हम लगाउन निशुल्क रूपमा सहयोग गर्ने राष्ट्रिय आविष्कार केन्द्र र डा. महावीर पुनप्रति सिङ्गो दार्चुला ऋणी रहनेछ ।
अत्यावश्यक उपकरण-सामाग्रीको लागि सुदुरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको आपूर्ति विभागप्रति पनि आभार व्यक्त गर्दछु ।
उक्त उपकरण-सामाग्री दार्चुला पठाउन सहजीकरण र समन्वय गर्नुहुने मञ्चका सह-सयोजक भुपेन्द्र बिष्ट, सदस्यहरु खिमानन्द जोशी, पदम बडाल, माधब धामी, दिवान धामी, जिज्ञासु खत्रीलगायत सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद ।
काठमाडौंबाट उक्त उपकरण ल्याई सहयोग गरिदिने प्यारी बहिनी कमला धामी, बसका चालक/धनी लगायत सबैलाई धन्यवाद । त्यस्तै धनगढीमा सहजीकरणका लागि सामान हस्तान्तरण गर्ने जय साउँद सर,धनगढीको चौराहाको फार्मेसी सम्म पुगाउने पदम जोशीज्यू र नवीन धामीज्यू, त्यसपछी फार्मेसीबाट बुझेर धनगढी देखि दार्चुला सम्म ल्याईदिने सर्पराज बडुज्यू र चालक कमलेश जी लाई धेरै धन्यवाद ।
मञ्चका तर्फबाट हामीले कुनै ठुलो काम गरेका होइनौ, केबल सहजीकरण र समन्वय मात्रै गरेका हौ । यत्ति थोरै सामान र केबल समन्वय-सहजीकरण गर्दैमा यसरी सामाजिक संजालमा राखी प्रचार गरिहाल्ने हाम्रो उदेश्य कदापि होईन तर थोरै सहजीकरण र समन्वयले मात्रै पनि केही गर्न सकिन्छ भन्ने मात्रै हाम्रो भनाई हो ।
अस्पतालको प्रत्यक्ष समन्वयमा हामीले गरेको काम ठुलो हुँदै होईन तर यहि सामाजिक संजालको सन्देशका कारणमात्रै पनि भेन्टिलेटर र अक्सिजनको पर्खाईमा अस्पतालमा पालो कुर्दै बसेका बिरामी, तिनका आफन्त र आम दार्चुलाबासीको मनोबल हुन गई थोरै भएपनि बाच्ने आशा जीवित हुनसक्छ भन्ने हाम्रो ठहर हो ।
त्यही अक्सिजन नभएर हामीले आजसम्म ९ जना आफन्तलाई गुमाईसकेका छौ भने गत मंसिरमा भाईटिकाकै दिन धनगढी ल्याउदै गर्दा सिलिन्डरमा अक्सिजन सकिएका कारण आधी बाटोमै हामीले नेपाल विद्युत प्राधिकरणका स्टोर प्रमुख पदम बडाललाई २९ वर्षकै उमेरमा गुमाउनुपर्यो ।
आफ्नो बुद्धि, विवेक, पहुँच र वर्कतले हामीले गर्नसक्ने सबै कामका लागि हामी सदैव तयार रहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
अधिवक्ता कृष्ण महरा तथा दार्चुला (कोभिड-१९) सहयोग तथा समन्वय मञ्च परिवार

प्रतिक्रिया