Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:३३

उत्तराखण्डका मुख्यमन्त्री धामीको किर्तिमानी जित, प्रतिस्पर्धीको जमानत जफत

Wide Nepal News
शनिबार, जेठ २१, २०७९
भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी चम्पावत उपनिर्वाचनमा विजयी भएका छन्। मुख्यमन्त्री धामीले चम्पावत उपनिर्वाचनमा किर्तिमानी जित निकालेका हुन्। भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार उपनिर्वाचनमा सबैभन्दा बढी ५८ हजार २ सय ५८ मत ल्याएर मुख्यमन्त्री धामी विजयी भएका छन्। उनले पूर्वमुख्यमन्त्री विजय बहुगुणाको जितको कीर्तिमान पनि तोडेका छन्। मुख्यमन्त्री धामीले कुल ६२ हजार ८९८ मतमध्ये ५८ हजार २५८ मत हासिल गरेका हुन्। यसअघि सन् २०१२ को उपनिर्वाचनमा तत्कालीन मुख्यमन्त्री बहुगुणा सितारगञ्जमा ५३ हजार ७६६ मत ल्याएर विजयी भएका थिए। धामीका प्रतिस्पर्धी अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ। कांग्रेसकी उम्मेदवार निर्मला गहातोडीले ३ हजार २३३, सपाका मनोज कुमारले ४०९ र स्वतन्त्र उम्मेदवार हिमांशु गारकोटीले ३९९ मत मात्र ल्यान सके। मुख्यमन्त्री धामी खटिमा विधानसभा चुनावमा कांग्रेस उम्मेदवार भुवनचन्द्र कापडीसंग झण्डै ६ हजार मतले पराजित भएका थिए। चम्पावत विधानसभा क्षेत्रबाट दोस्रो पटक भाजपाको टिकटमा विधायक बनेका कैलाश गहातोडीले सीएम धामीका लागि सिट खाली गरेका थिए। त्यस पछि भएको उपनिर्वाचनमा धामीले किर्तिमानी जित निकालेका छन्।

प्रतिक्रिया