Wide Nepal News आइतबार ०९, मङि्सर २०८१ १०:०३

दार्चुलामा थप एकजना कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या ६ सय नजिक

Wide Nepal News
सोमबार, जेठ १०, २०७८
गोकुलेश्वर : दार्चुलामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार (आज) जिल्ला अस्पताल दार्चुलामा दुहुँ गाउँपालिका वडा नम्बर ४, का ५४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । आइतबार मात्रै जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका उहाँको सोमबार बेलुकी साढे ५ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । आइतबार अस्पताल भर्ना भएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको शरीरमा अस्पताल पुग्ने बेला अक्सिजनको मात्रै निकै कम अर्थात ६४ को लेबलमा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । अहिले जिल्ला अस्पताल दार्चुलामा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । दार्चुलामा आज मात्रै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल व्यक्ति बिरेन्द्रराज भट्टका अनुसार सोमबार दुहुँ गाउँपालिकाका २६ जना, लेकम गाउँपालिकाका ११ जना, नौगाड गाउँपालिकाका १ जना र खलंगा पुलघाटमा एक जनामा गरी ३९ जनामा संक्रमण पुष्टि भएको हो । दार्चुलामा आज ३९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ५९१ पुगेको छ । जिल्लामा सोमबार (आज) तीन जना संक्रमित निको भएसंगै कोरोनामुक्त हुनेको संख्या २१७ पुगेको छ । आइतवार दार्चुलामा ४८ जनाले कोरोना जितेकोमा सोमबार तीन जनाले मात्रै कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया