Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४६

अछाममा किशोर मृत्यु प्रकरण : डीएसपी भट्टको नेतृत्वमा सीआईबीको टोली परिचालन

Wide Nepal News
आइतबार, जेठ २२, २०७९
काठमाडौं । अछाममा १७ वर्षीय एक किशोर मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली परिचालन गरिएको छ । घटनाबारे विभिन्न आशंका र विवाद बढ्दै गएपछि सीआईबीको टोली परिचालन गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भोलाबहादुर रावलका अनुसार डीएसपी मनोहर भट्टको नेतृत्वमा सीआईबी टोली अनुसन्धानमा खटिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकरसहितको टोली पनि खटाइएको छ । १० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोदबहादुर शाही शनिबार बिहान १० बजेर २० मिनेटमा मृत अवस्थामा फेलापरेका थिए । पञ्चदेवल विनायक–४, कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट एक किलोमिटर टाढा जंगलमा उनको शव फेलापरेको थियो । आफन्त र स्थानीयले उनको हत्या भएको दाबी गरेका छन् । विरोधमा स्थानीयको प्रदर्शन समेत जारी छ । प्रहरीका अनुसार स्थानीय तह निर्वाचनका बेला कालिकास्थनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । मृत भेटिएका किशोर एमाले समर्थक रहेको बताइएको छ । उनका आफन्तले घटनामा कांग्रेस नेता–कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रावलले भने, “प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ । अहिले अरू कुरा भन्न मिल्दैन । बाँकी कुरा अनुसन्धानबाट खुल्ला ।” शनिबार स्थानीयको प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास र हवाईफायर समेत गरेको थियो ।

प्रतिक्रिया