बैतडीका पत्रकार बिष्टद्वारा जन्मदिनमा अक्सिजन खरिदका लागि सहयोग
Wide Nepal News
बुधबार, जेठ १२, २०७८
दार्चुला : बैतडीका एकजना पत्रकारले आफ्नो जन्मदिनको अवसर पारेर अक्सिजन खरिदका लागि सहयोग गरेका छन ।
राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोदसिंह विष्टले आफ्नो जन्मदिनको अवसर पारेर अक्सिजन खरिदका लागि सहयोग गरेका हुन । पत्रकार विष्टले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जारी सहयोग संकलन अभियानमा सहयोग गरेका हुन ।
जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव रहेको भन्दै प्रतिष्ठानले सहयोग संकलन अभियान सञ्चालन गरेको छ । जेठ १२ गते २८ बर्ष पुरा गरेर २९ औं बर्षमा प्रवेश गरेको अवसरमा २ हजार ८ सय २९ रुपैंया प्रतिष्ठानको खातामा जम्मा गरेको पत्रकार विष्टले जानकारी दिएका छन । जन्मदिन मनाउन गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा अक्सिजन नपाएर प्राण त्याग गरिरहेका नागरिक बचाउनका लागि उक्त सहयोग गरिएको पत्रकार बिष्टले बताएका छन ।
आफ्नो सानो सहयोगले कसैको जीवन रक्षामा सहयोग पुग्ने हुँदा उक्त सहयोग गरिएको उनको भनाई छ । बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत ११ वर्षदेखि पत्रकारितामा सक्रिय छन । पत्रकार विष्ट पत्रकारितासंगै सामाजिक सेवामा समेत संलग्न हुँदै आएका छन ।
प्रतिष्ठानले जन्मदिनमा फजुल खर्च कटाएर सहयोग गरेकोमा पत्रकार विष्टलाई धन्यबाद ज्ञापन गरेको छ।
जेठ २ गतदेखि सञ्चालन गरिएको अभियानमा हालसम्म ८ लाख ६२ हजार ९५९ रुपैंया संकलन भइसकेको प्रतिष्ठानले जनाएको छ । उक्त संकलित रकम अक्सिजन आपुर्ती लगायतमा खर्च भइरहेको उक्त अभियानमा संलग्न अभियान्ताहरुले बताएका छन ।
अभियन्ताहरुद्वारा उक्त अभियानमा सहयोग गर्नका लागि सबैलाई अपिल समेत गरिएको छ ।
प्रतिक्रिया