Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५९

छाङ्गरुमा नेपाल प्रहरीको सुविधा सम्पन्न भवन निर्माण गरिने

Wide Nepal News
शुक्रबार, जेठ १४, २०७८
दार्चुला । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा नजिकै व्यास गाउँपालिका १, छांगरुमा नेपाल प्रहरीको अत्याधुनिक सुविधा सहितको भवन निर्माण हुने भएको छ । लामो समयदेखि जीर्ण भवनमा बस्दै आएका सीतापूल प्रहरीको लागि नयाँ अत्याधुनिक भवन निर्माण हुने भएको हो । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा ८ कोठे सुविधा सम्पन्न भवन निर्माण हुन लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताएका छन । "भवनको लागि ठेक्का सम्झौता भइसकेको छ " डिएसपी भट्टले भने, "छिट्टै निर्माण व्यवसायीले काम सुरु गर्छ । " भवन निर्माणपछि जीर्ण भवनमा ड्युटी गर्दैआएका प्रहरीलाई राहत हुनेछ । यो वर्ष सशस्त्र प्रहरीको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु भएपछि प्रहरीले पनि भवन निर्माण प्रक्रिया अघि बढाएको हो । व्याँसको छांगरु सीतापूलमा निर्माण हुने भवनको लागि कुल २ करोड ३ लाख रुपैयाँ लागतमा रोयल एलबी एण्ड एबी जेभी धनगढीसँग सम्झौता भएको छ । भवन निर्माणको लागि गत वैशाख १२ गते सम्झौता भइसकेको निर्माण व्यवसायी लालबहादुर वमले बताए । दुई वर्षभित्र भवन निर्माण कार्य सक्नुपर्ने छ । भवन निर्माणका झण्डै ४० घनमिटर काठको प्रयोग गर्नुपर्ने छ । सशस्त्र प्रहरीको भवनको जस्तै डिजाईनमा नेपाल प्रहरीको भवन निर्माण हुनलागेको हो । भवनको भित्र ढुंगाको पर्खाल हुने छ भने बाहिर सबै काठको प्रयोग हुने छ, निर्माण व्यवसायीले वमले भने, "भवन निर्माण कार्य अघि बढाउने तयारी गरिएको छ ।" "भवन निर्माणमा बढि काठको प्रयोग हुने भएपछि अनुमतिको लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयसँग प्रक्रिया अघि बढाएको छु," ठेकेदार बमले भने, "तर अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले पनि माथिल्लो निकायमा पठाउनुपर्ने भएको कारण अनुमति प्राप्त भएको छैन् ।" काठको अनुमति आउने वित्तिकै निर्माण कार्य अघि बढाउने गरी तयारी थालिएको निर्माण व्यवसायी बम बताउछन ।

प्रतिक्रिया