Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०८

बैतडी : जेठ मसान्तसम्म लम्बियो निषेधाज्ञा

Wide Nepal News
आइतबार, जेठ १६, २०७८
दार्चुला :  बैतडीमा निषेधाज्ञाको समयावधि थप गरिएको छ । आइतबार (आज) प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै जेठ मसान्त सम्मका लागि निषेधाज्ञा थप गरेका हुन् । यस अघि जेठ १७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गरिएको निषेधाज्ञा जेठ मसान्त थप गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । कोरोना भाईरसको संक्रमण अझै पनि तीव्र गतिमा फैलिरहेकोले निषेधाज्ञा थप गरिएको हो । जिल्ला कोभीड १९ व्यवस्थापन समितिको बैठकले गरेको सिफारिश अनुसार जेठ ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारवाही हुने आदेशमा उल्लेख गरिएको छ । यसैगरी बैंक तथा बित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीनदिन मात्रै दिनको २ घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । विकास निर्माणको हक भने सम्बन्धित योजनाको प्रमुखको सिफारिशमा जिल्ला प्रशासन कार्यालयको अनुमतिमा मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ । आदेशको उल्लंघन गरिएमा कोभीड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया