Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१२

स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न दार्चुलाका स्थानीय तहलाई आग्रह

Wide Nepal News
सोमबार, जेठ ३१, २०७८
दार्चुला : कोरोना भाइरसको संक्रमणका कारण मानव जीवन अस्तव्यस्त बनिरहेको समयमा दार्चुलामा अग्रपंक्तिमा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न आग्रह गरिएको छ दार्चुला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले कोरोना भाइरस नियन्त्रण तथा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न स्थानीय तहलाई आग्रह गरेको हो । जिल्लाभरी संघ, प्रदेश र स्थानीय तहमार्फत स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । संघ र प्रदेशले कोरोनामा खटिएका कर्मचारीलाई प्रोत्साहन गर्ने निर्णय गरिसकेको हुँदा स्थानीय तहमार्फत खटिएका स्वास्थ्यकर्मीलाई पनि प्रोत्साहन गर्न आग्रह गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिएका छन । "कोभिड संक्रमणको समयमा अग्रपंक्तिमा स्वास्थ्यकर्मी खटिएकै छन्", जनस्वास्थ्य अधिकृत भट्टले भने, "तर कोही स्वास्थ्यकर्मीले प्रोत्साहन पाउने कोहीले नपाउँदा स्वास्थ्यकर्मीमा निराशा आउन सक्छ । यसको लागि स्थानीय तहको क्षमताले भ्याएसम्म उनीहरुको पनि मनोबल बढाउन प्रोत्साहन गर्न आग्रह गरेका छौ । यो हाम्रो आग्रह मात्रै हो", उनले थपे, "प्रोत्साहन गर्ने, नगर्ने स्थानीय तहमै भरपर्छ ।" यसअघि स्वास्थ्यकर्मीले कोरोनाको बेला अग्रपंक्तिमा रहेर काम गर्दा पनि प्रोत्साहन भत्ता नपाएको गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया