Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:११

निरन्तरको झरीले दार्चुलाका ग्रामिण सडक अवरुद्ध

Wide Nepal News
शुक्रबार, असार ०४, २०७८
दार्चुला : बर्षात शुरु भएसंगै दार्चुलाका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण खार-खलंगा सडक, दार्चुला-तिंकर सडक र विटुले-पारिबगड सडक अवरुद्ध भएका हुन् । प्रदेश गौरब योजना अन्तर्गत ग्राभेल भइरहेको खार-खलंगा सडकको तीन ठाउँमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै खलंगा खार क्षेत्रमा सञ्चालन हुँदै यातायातका साधन प्रभावित भएका छन् । यो सडक खण्डको मालभेला, झुस्कु मोड र सेला क्षेत्रमा सडक अवरुद्ध भएको उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताए । सडक अवरुद्ध हुँदा नौगाडसम्म जाने स्थानीयलाई समस्या भएको छ । नौगाडबाट खलंगा आउने तरकारी विक्रेताहरुले झनै सास्ती भोग्नुपरेको नौगाडका स्थानीयले बताएका छन । सडक अवरुद्ध हुँदा पिठ्युमा तरकारी ढुवानी गर्न समस्या हुन्छ, स्थानीयले भने, गाडी चल्यो भने सहज रुपमा तरकारी बजारसम्म पुर्याउन सकिन्छ । अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायलाई आग्रह गरिएको अध्यक्ष ठगुन्नाले बताए। "यो सडक खण्डमा ग्वालेक निर्माण सेवाले सडक ग्राभील गर्दैछ", अध्यक्ष ठगुन्नाले भने, "निर्माण व्यवसायलाई सडक खुलाउन आग्रह गरिरहेको छु ।" यस्तै विटुले-पारिबगर सडक खण्डको रिल पहिरो क्षेत्र अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै दार्चुला तिंकर सडक खण्डको राताकाठा क्षेत्रमा सडक अवरुद्ध भएको अशोक ओझाले जानकारी दिए । राताकाठामा पूरै पहिरो आएको छ। चट्टान खसेपछि अहिले प्रहरीले पहिरो क्षेत्रमा परिचलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन ।

प्रतिक्रिया