Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०६:२७

गोकुलेश्वरमा ह्युमानिटी फाउण्डेसनले जडान गर्न लागेको अक्सिजन प्लान्ट जडानमा ढिलाइ

Wide Nepal News
आइतबार, असार ०६, २०७८
दार्चुला : निशुल्क अक्सिजन अभियान संचालन गर्दै आएको ह्युमानिटी फाउण्डेसनले दार्चुलाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा जडान गर्न लागेको अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले संक्रमितहरू अक्सिजन अभावमा अस्पतालको बेडमा थलिएका समाचार सञ्चारमाध्यममा आएपछि सुदूरपश्चिम सहित देशका विभिन्न ठाउँमा निशुल्क अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गर्दै आएको फाउण्डेसनले गत महिनाको जेठ ६ गते गोकुलेश्वर प्राथमिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने घोषणा गरेको थियो । फाउण्सडेनद्वारा प्लान्ट बूक समेत गरिएको बताइए पनि घोषणा गरेको एक महिना बितिसक्दा समेत अक्सिजन प्लान्ट जडानका लागि कुनै सुरसार नदेखिएको स्थानीयको गुनासो आउन थालेको छ । ह्युमानिटी फाउण्डेसनका उपाध्यक्ष पुष्कर ओझाले 'वाइड नेपाल न्युज' लाई दिएको जानकारी अनुसार गोकुलेश्वर सहित अन्य ठाउँमा अक्सिजन प्लान्ट जडानका लागि सामग्री खरिद प्रक्रियामा रहेको छ । उपाध्यक्ष ओझाले ह्युमानिटी फाउन्डेसनद्वारा प्लान्ट खरिदका लागि आवस्यक रकम जुटाउने काम आफूहरूको रहेको तथा शंकर ग्रूप, चौधरी ग्रूप लगायतका संस्थाहरूसित समन्वय भइरहेकाले सामग्री खरिद प्रक्रियामा केही ढिलाई भएको जानकारी दिएका छन । गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सके दिगो रूपमा गोकुलेश्वर अस्पताल, जिल्ला अस्पताल दार्चुला सहित दार्चुलाका स्वास्थ्य संस्था तथा बैतडीका स्वास्थ्य संस्थाहरूमा समेत अक्सिजन आपूर्तिका लागि सहज हुने बिश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया