Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०२:१२

रोकिएको ‘कमेडी च्याम्पियन’ आगामी सातादेखि प्रशारणमा ल्याउने तयारी

Wide Nepal News
सोमबार, असार ०७, २०७८
कोरोना भाइरसले सिर्जना भएको परिस्थितिका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ संचालनमा ल्याउने तयारी गरिएको छ । छायांकन सम्भव नहुँदा रियालिटी शो को प्रशारण रोकिएको थियो । झण्डै डेढ महिनादेखि शोको प्रशारण बन्द थियो । निषेधाज्ञा केही खुकुलो भएपछि आयोजकले स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै शोलाई प्रशारणमा ल्याउने तयारी गरेको हो । निर्णायकमध्येका एक मनोज गजुरेलका अनुसार शोलाई आगामी सातादेखि प्रशारणमा ल्याउने तयारी छ । ‘यस सातादेखि छायांकन सुरु गर्ने र आगामी सातादेखि प्रशारणमा ल्याउने गरि छलफल भईरहेको छ’– उनले भने । उनका अनुसार प्रतियोगीहरुलाई मात्र सहभागी गराएर छायांकन गर्ने तयारीमा निर्माणपक्ष छ । सिजन २ मा १६ भागसम्म प्रशारण भएको शोमा उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा चलिरहेको थियो । ‘कमेडी च्याम्पियन सिजन २’ कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार बेलुका ९ः१० बजेबाट प्रशारण हुँदै आएको थियो । थ्रि प्रोडक्सनले निर्माण गरेको कमेडी च्याम्पियनलाई विशाल भण्डारीले निर्देशन गर्दै आएका छन् । यसको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । सिजन २ को उद्घोषण रीमा विश्वकर्मा र मेक्सम गौडेलले गर्दै आएका छन् । कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, रीमा विश्वकर्मा, राज घिमिरे र हिरन कुमार बस्नेत रहेका छन् ।

प्रतिक्रिया