Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:११

५ बर्ष देखि बेपत्ता दार्चुला अस्पतालको एम्बुलेन्स बाँकेको एक ग्यारेजमा भेटियो

Wide Nepal News
मङ्गलबार, असार १५, २०७८
दार्चुला । ५ बर्षदेखि बेपत्ता रहेको तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत जिल्ला अस्पताल दार्चुलाको म.१ ज ७६ नम्बरको एम्बुलेन्स लुम्बिनी प्रदेशको बाँकेस्थित एक ग्यारेजमा फेला परेको छ । बि.सं.२०७३ सालको फागुनमा दार्चुलाबाट बिरामीलाई नेपालगञ्ज रेफर गरि फर्किने क्रममा एम्बुलेन्स बर्दिया राष्टिय निकुञ्जमा उक्त एम्बुलेन्स दुर्घटना भएपछि मर्मतका लागि कोहलपुर लगिएको थियो । त्यसयता एम्बुलेन्सको मर्मतका लागि तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पताल बिकास समीतिले चासो नदिँदा उक्त ग्यारेजमा थन्किएको हो । केहि महिनाअघि जिल्ला अस्पताल दार्चुलाको वर्तमान अस्पताल व्यवस्थापन समीतिको बैठकले ५ बर्षदेखि बेपत्ता रहेको उक्त एम्बुलेन्सको खोजी गर्नुपर्ने निर्णय गरेपछि अस्पताल व्यवस्थापन समीतिका अध्यक्ष दलजीत सिंह धामी सहितको टोलि बाँके गएको र सोधपुछको क्रममा उक्त एम्बुलेन्स बाँके जिल्लाको कोहलपुर, चप्परगौडीस्थित एक ग्यारेजमा थन्किएको अवस्थामा भेटिएको वाइड नेपाल न्युज संग को संवादमा अध्यक्ष धामीले बताएका छन । "केहि समय अगाडी अस्पताल व्यवस्थापन समीतिको बैठकमा सबै बाट  म.१ ज ७६ नम्बरको नम्बरको एम्बुलेन्स थियो, हिजोआज त्यो कहाँ छ ?, त्यसको खोजी गरि संचालनमा ल्याउनुपर्छ भन्ने कुरा उठेपछि हामीले एम्बुलेन्स खोजी गर्ने प्रक्रिया थाल्यौ ।", अध्यक्ष धामीले भने, "त्यसको केहि समय पछि म सहित केहि साथीहरुको टिम सोको खोजी गर्न नेपालगञ्ज गयौ र बुझ्दै जाँदा कोहलपुर, चप्परगौडीस्थित एक ग्यारेजमा थन्किएको अवस्थामा भेट्यौ । अबको एक।दुई महिनामै उक्त एम्बुलेन्सलाई मर्मत गरेर संचालनमा ल्याउने तयारीमा लागेका छौ ।" अध्यक्ष धामीले दार्चुलाको एम्बुलेन्स ५ बर्षदेखि कोहलपुरको एक ग्यारेजमा थन्किनु दुखद कुरा रहेको बताएका छन । एम्बुलेन्सको मर्मतका लागि तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पताल बिकास समीतिले चासो दिनुको साटो किन यस्तो अवस्थामा छोडेको भनेर सो समयका पदाधिकारीहरुलाई प्रश्न गरेका छन । दार्चुलामा शववाहनको अभाव रहेको औंल्याउदैं उनले अबको २ महिनामा एम्बुलेन्सलाई मर्मत गरि शववाहनको रुपमा प्रयोग गरिने बताएका छन ।

प्रतिक्रिया