Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३६

दार्चुलामा पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

Wide Nepal News
मङ्गलबार, असार १५, २०७८
गाकुलेश्वर : दार्चुलामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो । जिल्लाको महाकाली नगरपालिका किम्तडी क्षेत्रमा कृषि ज्ञान केन्द्र दार्चुलाले रोपाइँ नै आयोजना गरि राष्ट्रिय धान दिवस मनाएको हो । केन्द्रले स्थानीय कृषक कमल राज जोशीको खेतमा कार्यक्रमको आयोजना गरेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । केन्द्रले प्रत्येक बर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाउने गरेको छ । दार्चुलामा आज सम्म ७० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिएका छन । जिल्लामा कुल रोपाइ हुने ४ हजार ४ सय ८० हेक्टर जमिनमध्ये हालसम्म ७० प्रतिशत जमिनमा रोपाई सम्पन भएको छ ।वर्खेबालीको प्रमुख अन्न वालीको रुपमा रहेको धान खेती अन्तरगत रोपाई सुरु भएसँगै कृषकहरुलाई कामको चटारो भएको छ । वैशाख सुरुमा धानको वेर्ना राखेका जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश क्षेत्रहरुमा रोपाई सुरु भइसकेको कार्यालय प्रमुख पन्तले बताएका छन । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशी ,महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट, सुरक्षा निकायका प्रमुख कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख तथा कर्मचारी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । जसमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी स्वयंले धान रोप्नका लागि खेत जोतेको कृषि ज्ञान केन्द्र दार्चुलाले बताएको छ । यता सरकारले कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्धेश्यले विभिन्न कृषि जोन क्षेत्र घोषणा गरि कार्यक्रम अगाडी बढाएको छ । कृषिलाई आधुनिकीकरण गर्न यान्त्रिककरणमा जोड दिँदै उत्पादन बढाउने परियोजनाको लक्ष्य रहेको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । नेपाल कृषि प्रधान देश भएको र यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर रहेकाले बर्सेनि धान दिवस मनाउने गरिएको छ । २०६१ साल मंसिर २९ गते मन्त्रिपरिषदले निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया