Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३३

पुर्खौली घर दार्चुला भएका पुष्करसिंह धामी उत्तराखण्डको मुख्यमन्त्रीमा नियुक्त

Wide Nepal News
आइतबार, असार २०, २०७८
भारतको उत्तराखण्डको ११औँ मुख्यमन्त्रीमा पुष्करसिंह धामी नियुक्त भएका छन्। नेपालको दार्चुला जिल्ला पुर्खौली घर भएका धामी विधानसभा चुनावमा सुदूरपश्चिमसँग सिमा जोडिएको खटीमा क्षेत्रबाट दुई पटक विधायक चुनिएका थिए। भारतीय जनता पार्टीको संसदिय दलको बैठकले धामीलाई मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको हो। उनले आइतबार सपथ ग्रहण गर्ने कार्यक्रम छ। संसदिय दलको नेता चयन भएपछि धामीले पार्टीले सामान्य कार्यकर्तालाई सेवाको अवसर दिएको र जनताका अधिकारलाई पुरा गर्नको लागी सबैको सहयोग लिएर काम गर्ने प्रतिक्रिया दिएका छन्। मुख्यमन्त्री तीर्थसिंह रावतले शुक्रवार राज्यपाल बेबी रानी मौर्यसमक्ष राजीनामा दिएका थिए। संविधानअनुसार रावतले ६ महिनाभित्र संसदको सदस्य भइसक्नुपर्ने थियो। तर, निर्वाचनको आयोगले कोरोना भाइरसको महामारीलाई ध्यान दिंदै उपनिर्वाचनको लागी अनुमति नदिएपछि उनी संसदको सदस्य बन्नबाट वंचित भएका थिए। रातवले विवादित बयान दिएको भन्दै उनको आलोचना समेत हुने गरेको थियो । विजेपीको नेतृत्व समेत उनीसंग खुसी थिएन। धामी ४५ वर्षको उमेरमा उत्तराखण्डको मुख्यमन्त्री नियुक्त भएका छन्। धामी उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवः महाराष्ट्रका गर्भनर भगतसिंह कोश्यारीको निकट मानिन्छन्। धामीसँग अहिलेसम्म सरकार चलाएको कुनै अनुभव भने छैन। उनी कोश्यारी मुख्यमन्त्री हुंदा उनको ओएसडी समेत बनेका थिए। यसअघि मुख्यमन्त्री त्रिवेन्द्र रावतले राजीनामा दिएपछि तीर्थसिंह रावत मुख्यमन्त्री बनेका थिए। उत्तराखण्डमा २१ वर्षमा ११ जना मुख्यमन्त्री बनेका छन्। धामीको जन्म पिथौरागढको मनालीछीनामा भएको थियो। उनका बुवा भारतिय सेनामा सूबेदार थिए। उनको कर्मभूमि भने खटिमा हो। उनले खटिमामा पहिलो पटक कांग्रेसका देवेन्द्र चन्दलाई ५ हजार भोटले पराजित गरेका थिए भने दोस्रो पटक निर्वाचित हुंदा कांग्रेसकै भुवन चन्द्र कापडीलाई तीन हजार मतको अन्तरले चुनाव हराएका थिए। धामीको नेपालसँग समेत सुमधुर सम्बन्ध छ। उनी मुख्यमन्त्रीमा नियुक्त भएको समाचारसंगै सामाजिक संजालमा दार्चुला सहित सुदुरपश्चिमका विभिन्न दलका नेता कार्यकर्ता, व्यवसायी र पत्रकारहरुले बधाई दिएका छन्।

प्रतिक्रिया