Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५०

दार्चुलाको भाइरल झरना : जहाँ गर्मी छल्न जानेको संख्या दिनहुँ बढ्दैछ

Wide Nepal News
बुधबार, असार २३, २०७८
गोकुलेश्वर  : दार्चुलाकाे  शैल्यशिखर नगरपालिकास्थित एक झरनामा यस वर्ष गर्मी छल्न जानेहरुको संख्या बढ्न थालेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९, नायलस्थित एक झरनामा हिजोआज गर्मी छल्न नुहाउन जानेको संख्या दिनहुँ बढ्न थालेको हो । उक्त झरना गोकुलेश्वर बजारबाट लगभग ३ किलोमिटरको दूरीमा पर्छ । नाम नराखिएको उक्त झरनामा दैनिकजसो नुहाउनका लागि जानेहरुको संख्या बढ्दै गएको छ । जहाँ गर्मी छल्नका लागि गोकुलेश्वर सहित विभिन्न ठाउँबाट मानिसहरु आउने गरेका छन । "गोकुलेश्वर सहित, सदरमुकाम खलंगा बाट समेत युवायुवतीहरु झरना हेर्न तथा नुहाउन आउने गरेका छन । विगतका बर्षहरुमा कसैलाई यस झरनाको बारेमा थाहा थिएन । तर यो बर्ष भने यो साता मात्रै ६ सय भन्दा बढि पुगिसकेका छन ।" स्थानीय गणेशराज बिष्टले भने, "गर्मीको समय भएकाले पनि यस वर्ष दार्चुला सदरमुकाम सहित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका विद्यार्थीहरु तथा बैतडीको डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका लगायतका ठाउँबाट समेत मानिसहरु आउने गरेका छन । दिउँसोको समयमा झरना लगभग व्यस्त रहने गर्छ ।" उक्त झरनामा गर्मी छल्न जानेहरु टिकटक भिडियो बनाउने, तस्विर खिच्ने तथा सामाजिक सञ्जाल फेसबुक, इन्स्टामा पोस्ट गर्ने गरेका छन । सडकबाट लगभग १ किलोमिटरको दूरीमा अवस्थित उक्त झरनासम्म पुग्ने बाटोको विकास गरि प्रचारप्रसार गर्न सकेमा जिल्लाको आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने कतिपयले धारणा व्यक्त गरेका छन ।

प्रतिक्रिया