Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२२

नौगाड पहिरोमा तीन जनाको मृत्यु, बाढीले जलविद्युत, पुल र घरहरु बगायो

Wide Nepal News
बिहिबार, असार २४, २०७८
दार्चुला । नौगाड गाउँपालिकामा बाढी र पहिरोमा परि तीन जनाको ज्यान गएको छ । गएराती पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उनकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन । पहिरोमा परि बेपत्ता भएका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोले १८ वर्षीया हरमती ठगुन्नाको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको चन्दले बताएका छन । पहिरोमा च्यापिएर नन्दु ठगुन्नाको एउटा भैँसीको समेत ज्यान गएको छ । नौगाड गाउँपालिका–३ जामिरका स्थानीय गौरसिंह ठगुन्ना र गोठे टमटाको घर खार खोलामा आएको बाढीले बगाएको छ । खोला किनाराका अरु घरहरु पनि पहिरोको जोखिममा रहेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिएका छन । बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघुजलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको धामीले बताए । बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा पानी घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ । बुधबार रातीको अबिरल वर्षाका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा पनि खानेपानीका मुलहरु, दुई वटा पानी घट्ट बगाउनुका साथै धुलिगडा स्वास्थ्य चौकी र नजिकका घरहरु जोखिममा परेका छन् । घटनास्थलमा उद्धार कार्यका लागि स्थानीयसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बर्खा शुरु भएसंगै जताततै बाढी र पहिरोको जोखिम बढेको छ । दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढी, पहिरोको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया