Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३४

नौगाडका बाढी पिडित परिवारलाई राहात वितरण

Wide Nepal News
शनिबार, असार २६, २०७८
दार्चुला :  नौगाड गाउँपालिका वडा नम्बर ३ का बाढी पिडित परिवारलाई गाउँपालिका र वडा कार्यालयले राहात वितरण गरेको छ । बाढीका कारण ज्यान गुमाएका परिवार र समस्यामा परेका परिवारलाई राहात वितरण गरिएको हो । बाढीका कारण ज्यान गुमाएका लक्ष्मणसिह सितोलीका बुबा गौरसिह सितोलीलाई ५० केजी चामल, ५ केजी दाल, ५ केजी पिठो, २ लिटर तेल, २ केजी नुन लगायत खाद्यान्न सामाग्री वितरण गरिएको छ । यस्तै बाढीले घर बगाएका गोठे टमटाका छोरा गगन राम टमटा लाई ५० केजी चामल, ५ केजी दाल, १० केजी पिठो, २ लिटर तेल, २ केजी नुन, १ वटा त्रिपाल र खुर्सानी, बेसार २/२ प्याकेट वितरण गरिएको छ । बाढीका कारण ज्यान गुमाएका ७२ वर्षीया गेउडी ठगुन्ना र उनकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको परिवार तथा नन्तु ठगुन्नाको परिवारलाई १०० केजी चामल, १० केजी दाल, २० केजी पिठो, ५ लिटर तेल, ५ केजी नुन, १ वटा त्रिपाल र खुर्सानी, बेसार २र२ प्याकेट वितरण गरिएको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिएका छन । गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी बिरामी भएको कारणले घटनास्थलमा जान नसके पनि गाउँपालिकाका अन्य कर्मचारी तथा जनप्रतिनिधिले राहात बितरण गरिएको छ । बाढी, पहिरोका कारण धनजनको क्षती व्यहोराका परिवारलाई विपदबाट थप सहयोग गरिने गाउँपालिका अध्यक्ष धामीले बताएका छन । नेपाल रेडक्रस दार्चुलाले समेत शुक्रबार बाढी पिडित परिवारलाई राहात सामाग्री वितरण गरेको बताइएको छ । नौगाड गाउँपालिकामा बुधबार र विहिबारको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोले निम्त्याएको धनजनको क्षती बारे जिल्लास्थित अधिकारीहरुले स्थलगत अवलोकन गरेका छन् । क्षतीबारे अद्ययन अवलोकनका लागि जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी, शसस्त्र प्रहरी बल नम्बर ४४ गण खलंगाका सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र बहादुर बम, नेपाली सेनाका गुल्मपति सेनानी ओम बिक्रम वस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, रेडक्रस दार्चुलाका प्रमुख एबं प्रतिनिधि, नौगाड गाउँपालिकाका जनप्रतिनिध, कर्मचारी लगायतको टोली नौगाड गाउँपालिकाको घटनास्थल पुगेको हो । नौगाड गाउँपालिकामा असार २३ गते राती देखि २४ गते सम्म वाढी र पहिरोले तीन जनाको ज्यान जानुका साथै व्याक्तिगत र सरकारी गरी करोडौँको सम्पत्तीको क्षती भएको छ । दार्चुला सदरमुकाम खलंगाबाट गएको टोलीले नौगाड गाउँपालिका वडा नम्बर ३ को खारमा ज्यान गुमाउने परिवारलाई सान्वना दिनुका साथै क्षतीको अवस्था बारे जानकारी लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । अनुगमन टोलीले नौगाड गाउँपालिका–३ को जामीरमा पुर्ण क्षति भएकोे खारखोला ३२ किलोवाट क्षमताको लघु जलविद्युत गृह, खारखोलामा रहेको झोलुङ्गे पूल, वाढी पछि पानी थुनिएर बनेको ड्याम, क्षतीग्रस्त खानेपानी योजना लगायत संरचनाहरुको समेत स्थलगत अवलोकन गरिएको नौगाड गाउँपालिकाका कर्मचारी कृष्णसिंह ठगुन्नाले बताए । सुरक्षा अधिकारीहरुका अनुसार क्षतिको जानकारी लिन र भावि योजना तथा तयारीका लागि बाढी र पहिरोले क्षती पुर्याएको स्थानमा स्थलगत अवलोकन गरिएको हो । अवलोकन भ्रमण पश्चात सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुले राहात र क्षतीपुर्तीका लागि आफुले सक्ने जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थानीयहरुले बताएका छन् । क्षतिको पुनर्निर्माणका लागि स्थानीय सरकारले मात्रै गर्न सक्ने अवस्था नरहेकोले प्रदेश तथा संघ सरकारबाट समेत सहयोगको अपेक्षा गरिएको नौगाड गाउँपालिकाले जनाएको छ । नौगाडमा बाढी, पहिरोले पुर्याएको क्षतीको प्रतिवेदन बनाएर राहात र पुनस्थापनाका लागि पहल गरिने बताइएको छ । मृतकका परिवारलाई राहात दिनुका साथै क्षतीग्रस्त संरचनाहरुको पुननिर्माण र क्षतीपुर्तीका लागि सरोकारवालाहरु जिम्मेवार बन्नुपर्ने स्थानीयहरुको माग छ । दार्चुलाका सबै स्थानीय तहका दर्जनौँ बस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । नौगाड गाउँपालिकामा बाढी, पहिरोका कारण बर्षेनी ठूलो जनधनको क्षती हुँदै आएको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत विपद्बाट ज्यान गुमाएकाका परिवारलाई प्रतिव्याक्ति दुई लाख रकम राहातस्वरुप प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया