Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३३

बैतडी : पाटन नगरपालिकाको भैंसी वितरण कार्यक्रम विवादित

Wide Nepal News
शनिबार, साउन ०२, २०७८
गोकुलेश्वर : बैतडीको पाटन नगरपालिकामा किसानहरुलाई भैंसी वितरण कार्यक्रम विवादित बनेको छ । नगरपालिकाले वडा नं २, ८, ९ र १० किसानलाई संघ र प्रदेश सरकारसंगको साँझेदारीमा उन्नत जातको भैंसी वितरण कार्यक्रम तय गरेको थियो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २२ लाख र नगरपालिकामा संघीय सरकारको सशर्त अनुदानको २१ लाख रुपैया गरेर ४३ लाखको लागतमा भैंसी वितरण कार्यक्रम तय गरिएको हो। स्थानीय आत्मविकास बहुउद्देश्यीय सहकारी संस्थालाई भैंसी खरीद र वितरणका लागि नगरपालिकाले सम्झौता गरेर जिम्मा दिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । उनले भने ‘नगरपालिकाले स्थानीय सहकारी संस्थासंग सम्झौता गरेको हो । सहकारी संस्थाले खरीद गरेर भैंसी वितरण गर्दैछ ।’ संघीय सरकारले मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन ९भैंसीपालन० कार्यक्रम अन्तर्गत नगरपालिकामा गत बर्ष सशर्त अनुदान उपलब्ध गराएको नगरप्रवक्ता भण्डारीले बताए । प्रदेश र संघ सरकारको साझेदारीमा ५० ओटा भैंसी र २ रांगो खरीद गर्नका लागि सहकारी संस्थासंग सम्झौता भएको उनले बताए । यसमा भैंसी र रांगो किन्नका लागि ३७ लाख रुपैया छुट्याएको छ । अन्य रकम परजीवि नियन्त्रण, औषधि लगायतका कामहरुका लागि छुट्याएको प्रवक्ता भण्डारीले बताए । किसानहरुलाई वितरण गरिएका भैंसी स्वस्थ नभएका, दुब्ला पाडीहरु वितरण गरिएको भन्दै यसको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । भैंसी वितरण गर्ने कार्य राम्रो भएपनि भैंसी राम्रो वितरण नगरेको स्थानीय खेमराज अवस्थीले सामाजिक सञ्जालमा लेखेका छन् । उनले भने ‘किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको पाइएन् । यसले गर्दा समस्या भएको छ ।’ तर भैंसी खरीद गरेर वितरण गरेको आत्मविकास बहुउद्देश्यीय सहकारी संस्थाले भने भारतको हरियाणाबाट उन्नत जातको भैंसी खरीद गरेको बताएको छ । भैंसी वितरणका सम्बन्धमा नगरपालिकाले अहिले पनि भुक्तानी गरिनसकेको र सर्वपक्षीय अनुगमन पछि मात्रै भुक्तानी दिने नगरप्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । यो बिषयमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत गुमानीदत्त पन्तले टाढाबाट गाडीमा ल्याउँदा भैंसीका पाडी केही दुब्ला देखिएपनि मुर्रा जातकै भएका बताए । २३ पाडी र एक राँगो किसानहरुलाई वितरण गरिएको उनले सुनाए ।

प्रतिक्रिया